March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

मापदण्ड विपरित सञ्चालित ५१ फर्मको कारोबार रोक्का, वाणिज्य विभागले तिरायो ३ करोड जरिवाना

मापदण्ड विपरित सञ्चालित ५१ फर्मको कारोबार रोक्का, वाणिज्य विभागले तिरायो ३ करोड  जरिवाना

साउन ५, काठमाडौं ।
मापदण्ड विपरित सञ्चालित विभिन्न व्यावसायिक फर्मलाई सरकारले ३ करोड रुपैयाँ जरिवाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा मापदणड विपरित सञ्चालित विभिन्न फर्महरुमाथि कारबाही गरी ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा आफू मातहतका ५ कार्यालयहरुबाट ४ हजार ७७९ वटा व्यापारिक फर्ममा गरिएको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित फर्महरुमाथि सो रकम बराबरको जरिवाना गरिएको विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार अनुगमनका क्रममा यसरी मापदण्ड विपरित सञ्चालन गरिएका १ हजार ३४७ वटा  उद्योग तथा व्यापारिक फर्महरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुरुप कारबाही गरिएको हो ।  त्यस्तै  ५१ वटा फर्मको कारोबार समेत रोक्का गरिएको विभागले जनाएको छ ।वाणिज्य विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छुट्टाछुट्टै अनुगमन गर्दै आएका छन्। नियमनकारी निकायले संयुक्त रुपमा बजार अनुगमन गनुपर्ने माग उठ्दै आएको छ।

Advertisement

विभागले म्याद  गुज्रेका, लेबलिङ नगरेका, गुणस्तरहीन खाद्यान्न नष्ट गरेको छ। उक्त एक वर्षको अवधिमा अनुगमनका क्रममा म्याद समाप्त भएका ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु जफत गरी नष्ट गरिएको हो । विद्यमान ऐन, कानुनको कमजोरीको फाइदा लिँदै व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै आएका छन्। संविधानले उपभोक्ता अधिकार सुनिस्चित गरेको छ। विभागले वस्तुको मूल्य निर्धारण गर्ने संयन्त्रको पनि विकास गर्ने तयारी गरेको छ। सोही अवधिमा ४ हजार ४१ वटा व्यापारिक फर्महरुलाई सामान्य कारबाही गरिनुका साथै सचेत गराइएको विभागले जनाएको छ ।