April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बागमती प्रदेशमा १५ अर्ब ५४ करोड बजेट फ्रिज

बागमती प्रदेशमा १५ अर्ब ५४ करोड बजेट फ्रिज

साउन ६, काठमाडौं ।
बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष ०७७÷७८ मा छुट्याएको बजेटमध्ये १५ अर्ब ५४ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । प्रदेश सरकारले गत आवका लागि ५१ अर्ब ४२ करोड ७४ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये गत आर्थिक वर्षमा ३५ अर्ब ८८ करोड ४४ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Advertisement

कार्यलयका अनुसार कुल विनियोजित बजेटमध्ये चालूगततर्फ १४ अर्ब ४१ करोड, पुँजीगततर्फ २० अर्ब ७ करोड र वित्तीयतर्फ १ अर्ब ४० करोड खर्च भएको छ । प्रदेश सरकारले चालू वर्षको पहिलो चौमासिकमा ८.११ प्रतिशत अर्थात ४ अर्ब १६ करोड बजेट खर्च गरेको थियो । यस्तै दोस्रो चौमासिकमा २५.३५ प्रतिशत बजेट खर्च गरेको थियो ।

Advertisement

बागमती सरकारले असारमा मात्र १३ अर्ब ६० करोड खर्च गरेको छ । आर्थिक वर्ष सकिनुअघि जेठ मसान्तसम्म ४६ प्रतिशत मात्र बजेट खर्चिएको प्रदेश सरकारले असार एक महिनामा कुल खर्चको २४ प्रतिशत रकम खर्चेको हो । असारमा मात्र पुँजीगततर्फ ८ अर्ब ९३ करोड र चालूगततर्फ ३ अर्ब २७ करोड खर्च गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए ।

बागमती प्रदेश सरकार गठनपछि गत आवको फ्रिज रकम हालसम्मकै सबैभन्दा कम हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार अघिल्लो आव ०७५÷७६ मा ३९ प्रतिशत फ्रिज भएको थियो । त्यस्तै, आव ०७६÷७७ मा ४२ प्रतिशत रकम फ्रिज भएको तथ्यांक छ । अघिल्लो आव ०७६÷७७ मा प्रदेशले ५९.८ प्रतिशत बजेट खर्च गरेको थियो । बागमती प्रदेशको ४ मन्त्रालयलाई सबैभन्दा बढी बजेट छुट्टाइदै आएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रत्येक वर्ष बढी बजेट छुट्टाइने गरेको छ । मन्त्रालयलाई चालू वर्षमा १९ अर्ब ७५ करोड बजेट विनियोजन भएको थियो । सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब ९५ करोड विनियोजन थियो । यस्तै भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३ अर्ब ७७ करोड बजेट विनियोजन भएको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ८९ करोड बजेट विनियोजन भएको थियो ।