July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

चोभारमा १ अर्ब ६० करोड लागतमा बन्यो सुख्खा बन्दरगाह, सञ्चालन हुन तीन महिना लाग्ने

चोभारमा १ अर्ब ६० करोड लागतमा बन्यो सुख्खा बन्दरगाह, सञ्चालन हुन तीन महिना लाग्ने

साउन ६, काठमाडौं ।
काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य सकिएको छ। तेस्रोपटक थपिएको म्यादअनुसार ठेकेदार कम्पनीले असार मसान्तमा सुक्खा बन्दरगाहको निर्माण सकेको हो ।  ठेकेदार कम्पनी सांसी–आशिष जेभीले काठमाडौं सुक्खा बन्दरगाहको निर्माण सम्पन्न भएको भन्दै हस्तान्तरणका लागि निवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। कोलकाता र केरुङ नाकाबाट आएका सामानको भन्सार जाँच सीधै काठमाडौंमा गर्न मिल्ने गरी यो बन्दरगाह निर्माण गरिएको हो।

स्थानीयको अवरोध, कोभिड–१९ को प्रभाव र ठेकेदारको ढिलासुस्तीका कारण तोकिएको समयभन्दा करिब डेढ वर्ष ढिला गरी सुक्खा बन्दरगाहको काम सकिएको हो । आयोजनाको कुल लागत १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । तर, सुरुको डिजाइनभन्दा थप पूर्वाधार बनाउनुपरेको तथा समयमै काम सम्पन्न नभएका कारण आयोजनाको लागत करिब १२ प्रतिशतले बढेको छ । साबिक हिमाल सिमेन्ट कम्पनीको चोभारस्थित जग्गामा निर्माण भएको सुक्खा बन्दरगाह २ सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

गोदाम घर र जाँच गर्ने तीन वटा घरको निर्माण सम्पन्न भएको छ। यस्तै भन्सारको पूर्वाधार, क्वारिन्टिन र प्रशासनिक भवनको निर्माण पनि सकिएको छ भने तीनवटा गेट पनि बनिसकेका छन्। ट्रकको तौल जोख्ने मेसिन पनि जडान गरिएको छ। बन्दरगाहको ठूलो भौतिक संरचनाको काम सकिएको र केही साना काम मात्रै बाँकी रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।  बन्दरगाहको ठूला संरचनाको काम सम्पन्न भइसकेको छ। निर्माण कार्य करिब सकिए पनि सञ्चालन खाका भने तयार हुन बाँकी रहेको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए। उनका अनुसार सीमा नाकाको भन्सारबाट भित्रिने मालवाहक सवारीसाधनलाई काठमाडौंसम्म कसरी पठाउने भन्नेबारे भन्सार विभागसँग छलफल भइरहेको छ।

विश्व बैंकको सहयोगमा चोभारमा निर्माण भएको आयोजनाको शिलान्यास ३ माघ ०७५ मा भएको थियो । त्यसअघि अगस्ट २०१८ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सुरुको ६ महिना स्थानीयको अवरोधका कारण काम नै सुरु हुन सकेन । काम सुरु नभएपछि आयोजनाको म्याद सात महिना थपियो ।

पहिलोपटक थपिएको म्यादअनुसार सेप्टेम्बर २०२० मा सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, यही समयमा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । काममा अवरोध आएपछि आयोजनाको म्याद पुनः थपियो । दोस्रोपटक थपिएको म्याद गत १३ वैशाखमा सकियो । दोस्रोपटक थपिएको म्याद पनि काम सन्पन्न नभएपछि आयोजनाको म्याद असारसम्मलाई थप गरियो । तेस्रोपटक थपिएको म्यादमा भने सुक्खा बन्दरगाहको काम सकिएको छ ।

तर, निर्माण सम्पन्न भए पनि  सुक्खा बन्दरगाह सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । सुक्खा बन्दरगाहलाई भन्सार विभागले भन्सार क्षेत्र घोषणा गर्न बाँकी छ । भन्सार, वाणिज्य मन्त्रालय, क्वारेन्टिनलगायतका अफिस सेटअप गर्न बाँकी नै छ । यसले गर्दा मुख्य पूर्वाधार निर्माणका काम सम्पन्न भइसके पनि सुक्खा बन्दरगाह सञ्चालनमा आउन भने अझै समय लाग्नेछ ।  पूर्वाधार निर्माण सम्पन्न भए पनि सञ्चालनको मोडालिटीअनुसार अन्य काम गर्न बाँकी रहेकाले सञ्चालनमा ढिलाइ हुने कार्यकारी निर्देशक गजुरेलले बताए । सञ्चालनको मोडालिटी हालै तयार गरिएको भन्दै उनले मोडालिटीअनुसार सञ्चालनको तयारी गर्न दुईदेखि तीन महिना लाग्ने बताए ।