July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

आयल निगमले ल्याएको ईआरपी कार्यान्वयनमा, सबै कारोबार एउटै अनलाइन प्रणालीमै

आयल निगमले ल्याएको ईआरपी कार्यान्वयनमा, सबै कारोबार एउटै अनलाइन प्रणालीमै

साउन ६, काठमाडौं ।

नेपाल आयल निगमले एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली -ईआरपी कार्यान्वयनमा ल्याएको छ । एक वर्षको तयारीपछि  ईआरपीको कार्यान्वयन सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पहिलो चरणमा आइतबारदेखि देशैभरका निगमको डिपोहरुबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा सुरु भएको उनले बताए ।

अब देखि निगमले उपलब्ध गराएको युजर नाम र पासवर्डबाट प्रणालीमै व्यवसायीले तेलको अर्डर गर्न र त्यसको भुक्तानी पनि गर्न सक्ने उनको भनाइ छ । विद्युतीय माग र भुक्तानीकै आधारमा डिपोमा पुग्ने ट्यांकरमा तेल लोड हुने हुँदा निगममा बैंक भौचर र नगद कारोबारको युगको अन्त्य भएको प्रवक्ता उपाध्यायले बताए । ईआरपी अन्र्तगतको विद्युतीय कारोबारको थालनी  आइतबार निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालयबाट गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

ईआरपीको बिभिन्न टुल्सहरुमध्ये पहिलो चरणमा निगमको सबै कारोबार विद्युतीय र डिजिटल बैकिङमा आधारित भएको उनले बताए । निगमको बागमति प्रादेशिक डिपोले नयाँ प्रविधिमा आधारित बिलिङ प्रणालीबाट सोमबार ठूलो मात्रामा डिजेल, पेट्रोल र मटीतेलको कारोबार गरेको दाबी गरेको छ । निगमले लागू गरेको प्रणाली नयाँ भएका कारण ब्यावहारिक सञ्चालनमा समस्या देखिएको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसनले जनाएको छ ।

के हो इआरपी ?

यो इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) परियोजनाले निगमको सम्पूर्ण कागजी प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाइज्ड प्रविधिमा रुपान्तरण गर्नेछ । निगमका सम्पूर्ण कार्यलाई एक आपसमा पारदर्शी र देखिने बनाउन यो परियोजनाले काम गर्दैछ । त्यही उद्देश्य हासिल गर्न निगमले विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो ।

बोलपत्रबाट जर्मनीमा विकास गरिएको एसएपी बिजनेस १ नामको सफ्टवेयर खरीद गर्न छनोट भएको हो । निगमले यस सफ्टवेयरको लाइसेन्स, पूर्वाधार निर्माण र मानव संशोधनका लागि करीब रु २२ करोड खर्च गरेको छ । विश्वका तेल र ग्यास उद्योगसँग सम्बन्धित ७० प्रतिशतले यही सफ्टवेयर प्रयोगमा ल्याइरहेको इञ्जिनीयर एवं परियोजनाका प्रमुख राजन नेपालले बताए। अहिले यस प्रविधिको प्रयोगका सन्दर्भमा निगमका इञ्जिनीयर र विदेशी परामर्शदाता इञ्जिनीयरले दिनरात काम गरिरहेको नेपाल बताउँछन् ।

यो प्रविधिले आयल नियमका महाशाखा र त्यस शाखाको सम्पूर्ण विवरणलाई कम्प्युटराइज प्रणालीमा लैजाने छ । जहाँबाट कर्मचारीको नियुक्ति, सरुवा, बढुवालगायत व्यक्तिगत विवरणको तथ्याङ्क अध्यावधिक गर्नेछ । वर्सेनि अर्बौं रुपैयाँको कारोवार गर्ने संस्था भएको हुनाले सबै प्रणालीको सही समयमा सही सूचना प्रवाह गर्नका लागि यो प्रक्रिया जरुरी भइसकेको निगमको ठम्याइ छ । यो सफ्टवेयरको प्रयोगपछि निगममा रहेका र आफूले चाहेका तथ्याङ्कको विवरण सहजताका साथ हेर्न, अनुगमन गर्न र रिपोर्ट निकाल्न सकिने छ ।

साथै बजारमा डिलरको माग, डिलरको क्षमता र उनीहरुको खाताको विवरण एकै क्लिकमा लिन सकिन्छ । सफ्टवेयरको प्रयोग पछि डिलरले गर्ने माग र सो मागका लागि आवश्यकपर्ने रकमका लागि निगम र बैंक धाउनुपर्ने छैन । त्यसका लागि आफ्नो हातमा भएको मोबाइलको सहायताले जुनसुकै स्थानबाट पनि यो काम गर्न सकिन्छ ।

यसैको माध्यमबाट हाम्रो माग र बजारमा अहिले रहेको मौजुदा इन्धनको बारेमा जानकारी लिन सकिन्छ भने लोड भएका गाडीको विवरण लिनसमेत यसले मद्दत गर्नेछ ।