वार्षिक २५ करोडको पान आयात
नेपालका तराई क्षेत्रमा जाने हो भने प्रायः पुरुषहरूले पान चपाइरहेकै देखिन्छ । पानको पत्तामा कत्था, चुना र विभिन्न खालका पान मसाला हालेर बनाइएको पान खाएर सडकदेखि जहाँसुकै रातो हुने गरि पिच्च पिच्च थुक्ने क्रम बढेपछि सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, महोत्तरीसहितका विभिन्न जिल्लाका सरकारी कार्यालयहरूका हाकिमहरूको टाउको दुःख थालेको छ । सप्तरीका केही कार्यालयहरू कार्यालयक भित्तामा नथुकुन् भनेर भित्तामा देवीदेवताका फोटै टाँस्न थालिएको छ । तराई–मधेसका जिल्लाहरूमा मात्रै होइन, काठमाडौं सहित केही पहाडी र केही हिमाली जिल्लामा पानको संस्कार बढेको छ । नेपालीहरूले वर्षमा करिब २५ करोड रूपैयाँ त पान खाएरै थुक्ने गरेका छन् । यो औपचारिक रूपमा भन्सार तिरेर भएको आयात हो । योभन्दा कैयन गुणा बढी भन्सार छलेर पानको पात, कत्था र पान मसाला आयात हुने गरेको स्वयं पान बिक्रेताहरू स्वीकार्छन् । नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेशबाट पानको पत्ता आयात हुन्छ । एउटा पानको मूल्य न्यूनतम १५ देखि १५० रूपैयाँसम्म हुने गरेको पान व्यवसायीहरू बताउँछन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा २ करोड ९६ लाख मूल्यबराबरको १ लाख ८६ हजार ११० किलो पानको पात आयात भएको छ भने त्यसमा हाल्ने ९ करोड ९८ लाख मूल्यबराबरको ७२ हजार ४२२ किलो कत्था आयात भएको छ । यस्तै, गत वर्ष १० करोड १५ लाख मूल्यबराबरको करिब ६० हजार किलो पान मसला आयात भएको छ । यसमा सुपाडी, नरिवलसहितका पानमा हालिने अन्य मसालाको रकमसमेत जोड्दा वार्षिक २५ करोड रुपैयाँबराबरको पान खाएर नेपालीले थुक्ने गरेका छन् । नेपाल पान व्यवसायी संघले केहीअघि वीरगन्ज भन्सारबाट मात्रै वार्षिक १५ करोडको गुट्का अवैध रूपमा आयात हुने गरेको बताएको थियो । अन्य मुख्य भन्सार र छोटी भन्सारबाट दैनिक लाखौं मूल्यकोका गुट्का आयात हुने गरेको छ । पान व्यवसायीहरूका अनुसार सिरहामा मात्रै वार्षिक ९६ लाख वटा र सप्तरीमा वार्षिक ८५ लाख वटा पानको पात खपत हुन्छ । यहीअनुसार धनुषादेखि बाँकेसम्मका अन्य जिल्लाको हिसाब निकाल्दा औपचारिक आयातभन्दा ठूलो अनुपातमा पान भन्सार छलेर आयात हुने गरेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्