September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

बजेटबाट कुन कुन व्यवसायले करमा कति पाए छुट

बजेटबाट कुन कुन व्यवसायले  करमा कति पाए छुट

सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट प्रस्तुत गर्दै एक दर्जन व्यवसायलाई कर छुटको व्यवस्था गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकमार्फत १४ वटा व्यवसायलाई कर छुट तथा मिनाहाको व्यवस्था गरेको जानकारी दिएका हुन् ।

Advertisement

आर्थिक विधेयकमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षमा २०६५ साल असार मसान्तसम्म कर निर्धारण भइ असुल हुन नसकेका आयकर बक्यौतामध्ये प्रति लागत ५० हजार रुपैयाँसम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिनाहा गर्ने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ ।

Advertisement

यस्तै, फर्दर पब्लिक अफरिङ (एफपीओ)बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये २०७९ असारसम्म बोनस सेयरका रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ अनुसार लाग्ने कर २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने छ ।

यस्तै, कम्पनीहरु आपसमा गाभिँदा वा प्राप्तिमा सौदाबाजी गर्दा प्राप्त लाभ बापतको आयलाई कर प्रयोजनका लागि आय समावेश गरी कर दाखिल नगरेको भए २०७९ सालसम्म त्यस्तो आयमा लाग्ने कर २०८० साल मंसिर मसान्तसम्म दाखिल गरेमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।

सञ्चार गृहको कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७९÷८० मा आफ्नो व्यावसायिक उद्देश्य अनुरुपको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा २५ प्रतिशत छुटको व्यवस्था भएको छ । यस्तै, धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई समेत छुट दिएको छ ।

नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्म कारोबार गरेर आयकर नतिरेकालाई छुटको व्यवस्था भएको हो । यस्तो अवस्थामा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिल गरेमा सोभन्दा अघिल्ला वर्षहरुको कर शुल्क र ब्याज मिनाहाको व्यवस्था भएको छ ।

यस्तै, स्वदेश तथा विदेशबाट प्राप्त वास्तविक आय घोषणा गरी २०८० साल चैत मसान्तभित्र सोमा लाग्ने आयकर दाखिल गरेमा लाग्ने शुल्क तथा ब्याजसमेत मिनाहाको व्यवस्था भएको छ । यस्तै, आँखा अस्पतालले मूल्य अभिवृद्धि करबापतको कारोबार गरी २०७६÷७७ देखि २०८० जेठ १४ गतेसम्मको कारोबार रकमको ५ प्रतिशत रकम यही वर्ष असोजसम्म दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना समेत मिनाहाको व्यवस्था गरिएको छ ।

यस्तै, २०७१÷७२ देखि २०७६ साल जेठ १४ गतेसम्म कारोबार मूल्य अभिवृद्धि कर संकलन र दाखिल नगरेका सुजी उद्योगले यही वर्ष असोज मसान्तसम्म बुझाएमा बाँकी कर, थप दस्तुर र जरिवाना मिनाहा हुनेछ । यस्तै, वार्षिक २० लाख रुपैयाँभन्दा बढीको विद्युतीय सेवा बिक्री गर्ते गैरबासिन्दा व्यक्तिले प्यान नम्बर लिएर २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर २०८० सालको असार २५ गतेसम्म बुझाएमा शुल्क, ब्याज र थप दस्तुर मिनाहा हुने बताइएको छ ।

यस्तै, हायर पर्चेज कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहासमेत मिनाहा भएको छ । आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्मको कारोबार २ प्रतिशतले हुने रकम २०८० साल मंसिर मसान्तसम्मको दाखिल गरेमा यसमा लाग्ने जरिवाना, थप दस्तुर र ब्याज समेत मिनाहा हुने व्यवस्था गरिएको छ ।

यसबाहेक, दुधमा आधारित पेय पदार्थ उत्पादन गर्ने उद्योगले अन्तःशूल्क छुट पाएका छन् भने जडीबुटीमा आधारित उद्योगलाई समेत २०७१ सालदेखि २०८० सम्मको कर पुस मसान्तसम्म बुझाएमा बाँकी कर, थप दस्तुर र जरिवाना समेत मिनाहा हुने व्यवस्था छ । यस्तै, ढुवानी सेवाको कारोवार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा व्यवस्था गरिएको छ।