April 30, 2025, Wednesday
[nepali_today_date]

मरुभूमिबाट खानेपानी आयात

मरुभूमिबाट खानेपानी आयात

काठमाडौं । नेपाल जलस्रोतमा गर्व गर्छ । सरकार खाडी मुलुकहरूमा मिनरलयुक्त पानी निर्यातको योजना सुनाइरहेको छ । तर, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ । भन्सार विभागका अनुसार नेपालमा संयुक्त अरब इमिरेट्स (यूएई) बाट मात्र विगत ४ आर्थिक वर्ष (२०७२ देखि २०७६) मा २८ लाख ४७ हजार रुपैयाँको खानेपानी आयात भएको छ । यूएईबाहेक भारत, चीन, फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्यान्ड, अस्ट्रेलिया, क्यानडा, थाइल्यान्ड, फिलिपिन्स लगायत दर्जनभन्दा बढी देशबाट नेपालमा खानेपानी आयात हुने गरेको छ । उक्त अवधिमा ती देशबाट ७ करोड ३९ लाख रुपैयाँको २१ लाख लिटर खानेपानी नेपाल आयात गरिएको छ । सबैभन्दा बढी खानेपानी भारतबाट आयात हुने गर्छ । उक्त अवधिमा भारतबाट मात्र ३ करोड ९६ लाख ४७ रुपैयाँको खानेपानी आयात भएको देखिन्छ ।
नेपालमा विदेशबाट मिनरलयुक्त, हिउँबाट प्रशोधित र चिनी मिसाइएको गरी तीन प्रकारको पानी आयात हुने गर्छ । यूएईबाट दुई प्रकारको (हिउँबाट प्रशोधितबाहेक) र भारतबाट तीनै प्रकारको तथा अन्य मुलुकबाट सामान्यतः मिनरलयुक्त र चिनी मिसाइएको पानी आयात हुने गरेको तथ्यांकले देखाउँछ ।
चालू आव (२०७५÷७६) को ८ महीना (साउन–फागुन) मा पनि नेपालले १ करोड ७५ लाख रुपैयाँको ३३ लाख लिटर खानेपानी आयात गरेको छ । त्यसमध्ये भारतबाट ४४ लाख ३७ हजार, फ्रान्सबाट २८ लाख २१ हजार र यूएईबाट १ लाख ९२ हजार रुपैयाँको खानेपानी नेपाल आएको छ ।
नेपाल बोटल पानी उद्योग संघका अध्यक्ष सुभाष भण्डारीका अनुसार विदेशबाट आएको पानी पाँचतारे होटल, दूतावासहरू, विदेशी नियोग र नेपालमा बस्दै आएका विदेशीले प्रयोग गर्छन् । अधिकांश दूतावासले आफ्नै देशको खानेपानी उपयोग गर्छन् । नेपालका पानी उद्योगले देशको माग धान्ने भएकाले नेपालीकैै लागि भनेर खानेपानी आयात गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सरकारले पानी उद्योगलाई प्राथमिकतामा राख्ने हो भने १ वर्ष्भित्रै नेपालले ठूलो परिमाणमा पानी निर्यात गर्नसक्ने उनको दाबी छ ।

Advertisement