कोभिड–१९ विरोधी लडाइँमा भाटभटेनी समूहबाट एक करोड सहयोग
१२ चैत्र २०७६
भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ।
भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौँ, कोषले आवश्यकताअनुसार परिचालन गर्नेछ ।’
विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको अवस्थामा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पुर्याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ।
भाटभटेनी समूहले विपद्को अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढीपहिरोजस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्तिसमेत उलब्ध गराउँदै आएको छ ।
प्रतिकृया दिनुहोस्