लकडाउनको कारण ३ सय मेगावाट विद्युत् खेर
चैत १६, काठमाडौ. ।
लकडाउनको कारण उद्योग कलकारखाना बन्द हुँदा विद्युतको माग घटेको छ । आम सर्बसाधारण पनि विद्युतको कमै प्रयोग गरिरहेका छन् । विद्युत् बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालयहरू बन्द भएकाले यस्तो अवस्था आएको हो । अझ रातीको समयमा हुने विद्युत् खपत हुवात्तै घटेर गएको छ । रातिको समयमा मात्र झण्डै ३ सय मेगावाट बराबरको विद्युत् खेर गएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, रातीको समयमा उत्पादन ठप्पहुँदा उक्त परिमाणको विद्युत खेर गएको हो ।
लकडाउनका कारण उद्योग, धन्दा कलकारखाना बन्द हुँदा १२ सय मेगावाट पुगेको पिक आवरको विद्युतको माग झण्डै ९५० मेगावाटमा झरेको छ । एक हजार मेगावाट रहेको दिउँसोको माग ६ सय मेगावाटमा झरेको छ । प्राधिकरणको यो तथ्यांकले दिउँसो समेत ८८ मेगावाट बराबर विद्युत् खेर गएको छ ।
लकडाउनको कारण माग ४ सय मेगावाट मात्र रहेको छ । तर उत्पादन भने भारतबाट आयात घटाएर निजी क्षेत्र र प्राधिकरणको गरी ६ सय ८८ मेगावाट विद्युत् उत्पादन दिउँसोको समय भैरहेको अवस्था छ । लकडाउनअघि प्राधिकरणको ३६९ र निजी क्षेत्रबाट २५७ मेगावाट उत्पादन भएको थियो ।
हाल २५० मेगावाट ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात भईरहेकोमा बिहीबार रातीदेखि ५० मेगावाटमा झारिएको छ भने ६० मेगावाट आयात हुने टनकपुरबाट पनि घटाएर १० मेगावाटमा झारिएको छ । पिपिए सम्झौता अुनसार पुरै कटौती गर्न नमिल्ने भएका कारणले पुरै कटौती नगरी घटाईएको हो । आयात गरिरहेको बिजुली शुन्य बनाउन नमिल्ने भएकोले न्यूनतम मात्र आयात गरिएको हो ।
कुल ११४ मेगावाटको कुलेखानी पहिलो, दोस्रो र तेस्रो नचलाएको प्राधिकरणलाई निजी क्षेत्रबाट विद्युत् लिनैपर्ने वाध्यातात्मक अवस्था रहेकोले सकेसम्म विद्युत् प्राधिकरणले आफ्ना विद्युत् गृहहरूको उत्पादन कम गर्ने लक्ष्य लिएको छ । प्राधिकरणका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दीको विद्युत् गृहबाट लकडाउनअघि ३३ मेगावाट उत्पादन भएकोमा ३० मेगावाटमा झारिएको छ । त्यस्तै ६९ मेगावाटको मस्र्याङ्दी विद्युत् गृहबाट लकडाउनअघि ४० मेगावाट उत्पादन भएकोमा २६ मेगावाटमा झारिएको छ । उता १४४ मेगावाटको कालीगण्डकीको एउटा युनिट मर्मतका लागि उत्पादन बन्द गरिएको छ । दुई युनिटबाट लकडाउनअघि ७१ मेगावाट उत्पादन भइरहेकोमा त्यसलाई ४५ मेगावाटमा झारिएको छ ।
प्रतिकृया दिनुहोस्