November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

Advertisement

संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ । सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन्।

Advertisement

प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनिहरूको माग छ । संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै विरोधमा आज आकस्मिकबाहेकका सेवा बन्द गरेको हो। हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरमाथी आक्रमण गर्नेलाई भदौ २७ गते ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न संघले अल्टिमेटम दिएको थियो ।

सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भदौ ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको संघद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिने उल्लेख छ । संघले जारी गरेको विज्ञप्ति भनिएको छ,‘बाध्यात्मक परिस्थितिमा घोषणा गरिएका आन्दोलनलाई पूर्ण रूपमा सफल तुल्याई संघका सम्पूर्ण मागहरूको कार्यान्वयन गराउनका लागि दबाब स्वरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरूलाई यसै विज्ञप्ति मार्फत यथोचित कार्यान्वयन गर्न गराउन सूचित गरिन्छ ।’

उनीहरुले सांघातिक घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग गरेका छन्।

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए।