April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

८४२ वटा फर्म कारावहीमा, तीन करोड २९ लाख जरिबाना असुली

८४२ वटा फर्म कारावहीमा, तीन करोड २९ लाख जरिबाना असुली

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई बढाएसँगै जरिबानामा पर्ने व्यावसायिक संस्थाको सङ्ख्या पनि बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि फागुनसम्म तीन हजार ३०९ व्यवसायी फर्मको अनुगमन गरिएको जनाएको छ । यसरी अनुगमन गरेका मध्ये ८४२ वटा व्यवसायी फर्मलाई जरिबाना गरेको विभागले जनाएको छ । विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागको सीमित स्रोतसाधनले भ्याएसम्म नियमित अनुगमन गर्दा सो परिमाणको अनुगमन भएको बताए ।  विभागका अनुसार चालु आवको सो अवधिमा अनुगमन गरिएका तीन हजार ३०९ वटा व्यवसायी फर्ममध्ये ८४४ वटाको कागजात माग गरिएको छ ।
गत आवको सोही अवधिमा दुई हजार ६३२ वटा व्यवसायी फर्मको अनुगमन गरेर ५४९ वटा फर्मबाट एक करोड ५० लाख जरिबाना गरेको विभागले चालु आवको सो अवधिमा भने ८४२ फर्मबाट तीन करोड २९ लाख जरिबाना गरेको छ ।

गत आव सो अवधिमा अनुगमन गरिएका दुई हजार ६३२ व्यवसायी फर्ममध्ये ७७३ वटा फर्मसँग कागजात माग गरिएको थियो । यो आवको यस अवधिमा एक करोड पाँच लाख बराबरको सामान नष्ट गरिएको छ भने गत आवको सो अवधिमा भने एक करोड ५० लाख बराबरको सामान नष्ट गरेको विभागले जनाएको छ । विभागको अनुगमनका क्रममा व्यवसायी फर्ममा मूल्य सूची नराख्ने, व्यवसायको दर्ता नवीकरण नगर्ने, बिलबीजक नदिने, दिए पनि तिरेकोभन्दा कमको बिल दिनेलगायतका समस्या पत्ता लगाएर कारवाही गर्ने गरेको छ ।

Advertisement