April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

कोटिभिटी नेपालविरुद्ध १० अर्बको कर छली मुद्दा

कोटिभिटी नेपालविरुद्ध १० अर्बको कर छली मुद्दा

राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ । विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको हो । नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको पनि विभागको आरोप छ । सोहीकारण साजयसहित बिगो र जरिवानासहित साढे १० अर्ब रुपैयाँ बराबरको भएको विभागको भनाइ छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको हो । अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ ।  ढुंगानाका अनुसार एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय मागदाबी गरी अभियोग दायर गरिएको यो पहिलोपटक हो ।

कोटिभिटीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो ।

Advertisement