May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

साढे १० खर्ब व्यापार घाटा, सात हजार ९३ विद्युतीय गाडी आयात

साढे १० खर्ब व्यापार घाटा, सात हजार ९३ विद्युतीय गाडी आयात

चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा नेपालको व्यापार घाटा साढे १० खर्ब रुपैयाँ नाघेको छ । पछिल्लो नौ महिनामा देशमा ११ अर्ब ६७ अर्ब ३६ करोडको सामान आयात गरिँदा एक खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको मात्र निर्यात भएको छ । भन्सार विभागका अनुसार, यसरी देशलाई १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा नेपालेको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी थियो ।

Advertisement

गत वर्षको तुलनामा आयात २.८४ र निर्यात ३.६६ प्रतिशतले घटेको छ । कुल विदेशी व्यापार पनि २.९२ प्रतिशतले घटेको छ । आर्थिक वर्षको नौ महिनासम्म आयात र निर्यात दुवै घट्दो अवस्थामा देखिँदा अर्थतन्त्रमा खासै सुधार नभएको संकेत देखिएको छ ।

Advertisement

चालु आर्थिक वर्ष २०८०÷०८१ को नौ महिनामा नेपालमा सात हजार ९३ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । यी गाडीहरूको आयात मूल्य १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार (करिब साढे १७ अर्ब) रुपैयाँ छ । यो अवधिमा आयातित विद्युतीय गाडीहरूबाट सरकारले सात अर्ब ७८ करोड २१ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन मसान्तसम्म नेपालमा ६ हजार ४३५ विद्युतीय गाडी भित्र्याइएको थियो । चैत मसान्तसम्म एक महिनाको अवधिमा ६५८ ईभी नेपाल भित्र्याइएको हो । यो अवधिमा ५१ देखि १०० किलोवाटका इलेक्ट्रिक भेहिकल ४ हजार ७७ वटा आयात हुँदा यसले ५ अर्ब ६२ करोड रुपैयाँ राजश्व सहित पाचौँ उच्च राजश्व संकलन हुने वस्तु बनेको छ । इलेक्ट्रिक भेहिकलको ११ अर्ब ४६ करोड रहेको विभागले जनाएको छ ।

यी हुन् धेरै कर उठ्ने १० प्रमुख वस्तुहरु

चैत महिनासम्म सबैभन्दा बढी कर उठ्ने तीन वस्तुमा पेट्रोल, डिजेल र एलपी ग्यास रहेका छन् । तीन वस्तुहरु मात्रै ७६ अर्ब ५८ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै पेट्रोल इञ्जिनका एक हजार देखि १५ सय सीसीसम्मका कारहरु २ हजार १० वटा आयात हुँदा ५ अर्ब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो सवारीको भन्सार मूल्य २ अर्ब २४ करोड रुपैयाँ छ ।

यो अवधिमा १२५ सीसी भन्दा कम क्षमताका मोटरसाइकल मात्रै ३६ हजार वटा आयात भएका छन् । उक्त आयातबाट ४ अर्ब ११ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यी मोटरसाइकलको मूल्य ३ अर्ब ४६ करोड रुपैयाँ रहेको देखिएको छ । त्यस्तै, कच्चा फलामबाट ४ अर्ब ८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसको भन्सार मूल्य २८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै २७ अर्ब ८७ करोड मूल्य बराबरको आइरन प्लेटको आयातबाट ३ अर्ब ८१ करोड तथा १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको कोइलाबाट ३ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । मोबाइल फोनको बिक्रीबाट सरकारले ३ अर्ब ४ अर्ब ४ करोड रुपैयाँ राजश्व उठाएको छ । यो अवधिमा १३ लाख ९१ हजार मोबाइल आयात हुँदा २१ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।