January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

सेयर बजारमा सामान्य करेक्सन, २१ अर्ब ७१ करोड बढीको कारोबार

सेयर बजारमा सामान्य करेक्सन, २१ अर्ब ७१ करोड बढीको कारोबार

साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बुधबार ६४.२५ अंकले बढेको सूचक यसदिन ५.२९ अंकले घटेर २७५५.६२ को विन्दुमा अडिएको हो ।

Advertisement

यस दिन ३३२ कम्पनीको ५ करोड १३ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा २० करोड रूपैयाँ कम हो। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च रेकर्ड हो ।

Advertisement

यद्यपि, बिहीबारकै बजारलाई हेर्दा पनि सेयर बजारले नयाँ–नयाँ उचाई तय गर्ने काम जारी राखेको देखिन्छ । बुधबार अहिलेसम्मकै उच्च कारोबार गरेर रेकर्ड कायम गरेको नेप्सेले आज फेरि इन्ट्रा डे मा २८ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सफल भएको थियो । त्यसपछि भने सूचक पुनः घटेर २७ सयकै लाइनमा फर्कियो । नयाँ सरकार गठन, नयाँ अर्थमन्त्री नियुक्ति अनि मौद्रिक नीति सार्वजनिक यी सबै कुराहरुले बजारमा आम लगानीकर्ताको मनोबल निकै बढेको देखिन्छ । नेप्से सूचक र दैनिक कारोबार रकम प्रवृत्तिले पनि यी कुराहरुको पुष्टि गर्दै आएको छ । यद्यपि, बिहिबार कारोबार रकममा व्यापक तेजी आए पनि नेप्से सूचक भने सामान्य घट्यो । पछिल्ला दिनहरुमा बजारमा इन्ट्रा डे करेक्सन भइरहेको छ । बजार सधैं एकोहोरो गतिमा मात्र हिँड्दैन र बढेको बजारमा बेलाबखत करेक्सन पनि आउने गर्दछ । यस्तै, करेक्सनपछि फेरि बजारले गति लिन सक्छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ। यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ।

बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। यस्तै, पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३१ रूपैयाँ कायम भएको हो।

यसदिन कारोबार रकमको आधारमा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । उक्त कम्पनीको आज ५९ करोड ७५ लाखको कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सीइडीबी हाइड्रोपावर परेका छन् ।