चार मुख्य भन्सार कार्यालयले गर्यो ७५ प्रतिशत राजस्व संकलन
चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयले ७५ प्रतिशत राजस्व संकलन गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयले उक्त राजस्व संकलन गरेका हुन् ।
चार भन्सार कार्यालयले लक्ष्यअनुसार नै राजस्व संकलन गरेको बताएका छन् । समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व संकलन गरेको छ । जसमा भारततर्फका वीरगञ्ज, विराटनगर, मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व संकलन गत वर्षको तुलनामा ६३ अर्ब अर्थात् १३ प्रतिशत वृद्धि गरेको छ । सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म चार खर्ब ९६ अर्ब रुपियाँ राजस्व संकलन गरेको थियो ।
सरकारको लक्ष्यअनुसार चार भन्सार कार्यालयहरुले ६ महिनाको अवधिमा ७५ प्रतिशत राजस्व संकलन गरेको दाबी गरेका छन् । केही दिनअघि प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा सहभागि चार भन्सार प्रमुखले यस्तो दाबी गरेका हुन् । भन्सार प्रमुखहरुले गत वर्षको तुलनामा भन्सारमा राजस्व वृद्धि भएको बताए ।
वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेले चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशतमा राजस्व संकलन भएको भन्दै पर्सामा ९० प्रतिशत पुगेको उल्लेख गरे । उनले भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास र पुरानो भन्सार कार्यालयबाट यात्रुशाखा व्यवस्थान गरी भन्सारमा सहज वातावरण बनाएको उल्लेख गरे ।
प्रमुख लामिछानेले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन गरेको छ । पुस महिनामा ९० प्रतिशत पुग्छौं । चालु आवको ६ महिनामा ७५ प्रतिशतमा छौं । भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास हुन्छ । यात्री शाखा व्यवस्थापन पुरानो भन्सार कार्यालयबाट भइरहेको छ ।’’
उनले बिदाको दिन करिव पाँच हजार अन्य दिनमा २५ सय सवारीसाधन बिल काटेर नेपाल प्रवेश गर्ने गरेको जानकारी दिए । उनले भन्सार कार्यालयले यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाएको बताए । उनले स्थानीयहरुको मागअनुसार बिहान ५ देखि राति ११ बजेसम्म सञ्चालन गरेको बताए । उनले औद्योगिक कच्चा पदार्थ, सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेड जोनबाट सामानहरु पास गरेको बताए । उनले व्यापार सहजिकरण, जोखिम व्यवस्थापन गर्नेगरी छिटो, छरितो र व्यवस्थित गरेकाले राजस्व संकलनमा वृद्धि भएको दाबी गरे ।
प्रमुख लामिछानेले भन्नुभयो, ‘‘औद्योगिक कच्चा पदार्थ, सवारी साधन, कच्चा तेल खाद्यन्नलगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेर्ड जोनबाट सामानहरु पास गछौं । बाँकी एलो र ग्रिनबाट जान्छ । व्यापार सहजिकरण, व्यवसायीहरुको समय व्यवस्थापन र जोखिम व्यवस्थापन गर्ने गरी छिटो छरितो र व्यवस्थित गरेका छौं ।’’
यसैगरी, विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयले राजस्वमा ८ प्रतिशत योगदान गर्ने गरेको बताए । उनले वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मङ्सिरसम्म ७५ प्रतिशत राजस्व सङ्कलन भएको बताउनुभयो । उनले पुससम्म शतप्रतिशतको अवस्था रहेको जानकारी दिए ।
उहाँले आगामी दिनमा भन्सारमा राजस्व संकलन सुधार हुने संकेत देखिएको बताए । उनले यस वर्ष राजस्वको लक्ष्य पूरा गर्ने अपेक्षा रहेको पनि बताए । उनले वैदेशिक व्यापारमा गत वर्षको तुलनामा २ प्रतिशत कमी रहे पनि निर्यातमा तेलको निकासीले ६ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
विराटनगर भन्सार प्रमुख ढकालले भने, ‘‘विराटनगर भन्सार कार्यालय सविधाको हिसावले सुविधा सम्पन्न कार्यालयभित्र पर्छ । आइसीपी पनि व्यवस्थित छ भने रेल सेवा समेत उपलब्ध छ । कार्गो रेल उद्घाटन भए पनि निरन्तर रुपमा सञ्चालन गर्न सकिएको छैन । वैदेशिक व्यापारको सन्दर्भमा हेर्दा गत वर्षको तुलनामा २ प्रतिशत कमजोर छौं । निर्यातमा ६ प्रतिशतले माथि छौं । जुन तेलको निकासी बढेको छ ।’’
त्यस्तै, मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले चालु आर्थिक वर्षको ६ महिनामा मङ्सिरसम्म ९० प्रतिशतको राजस्व संकलन गरेको बताए । उनले मेची भन्सारमा २०८०÷०८१ मा १४ अर्ब २३ करोडको राजस्व संकलन गरेको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड संकलन गर्ने लक्ष्य राखेकोमा मङ्सिरसम्म ९० प्रतिशतको राजस्व संकलन गरेको बताए । उनले मङ्सिरमा मात्रै मेची भन्सार कार्यालयको राजस्व संकलन १०६ प्रतिशत भएको बताए ।
चीन तर्फको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कमलकुमार भट्टराईले तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजस्व संकलन हुने अपेक्षा गरेको बताए । उनले अघिल्लो वर्ष १३ अर्ब संकलन भएकोमा चालु आर्थिक वर्षको मङ्सिरसम्म ८६ प्रतिशत राजस्व संकलन भएको जानकारी दिए । उनले अघिल्लो वर्षको तुलनामा तातोपानी भन्सार कार्यालयले ८१ प्रतिशत राजस्व संकलनमा वृद्धि गरेको पनि बताए । उनले कोभिड र भूकम्पका कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदा भन्सारमा राजस्व संकलन कम भए पनि अहिले विस्तारै वृद्धि हुँदा राजस्व संकलनमा वृद्धि भएको दाबी गरे । उनले विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी हुन थालेकाले चीनसँगको व्यापार बढ्दो अवस्थामा रहेको बताए ।
भन्सार अधिकृत भट्टराईले भारतभन्दा चीनतर्फको भन्सारमा यात्रु व्यवस्थापन सजिलो रहेको बताउनुभयो । उनले भिसा नलिई चीन जान÷आउन नपाउने हुँदा समस्या नरहेको जानकारी दिए ।
चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । तर चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखे पनि पूरा भएको छैन । सरकारको लक्ष्य पूरा हुनका लागि अबको ६ महिनामा आठ खर्बको राजस्व संकलन गर्नुपर्ने आवश्यकता छ ।
प्रतिकृया दिनुहोस्