December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

व्याक्तिको नाममा दर्ता भएको सरकारी जमिन फिर्ता

व्याक्तिको नाममा दर्ता भएको सरकारी जमिन फिर्ता


मंसिर १५, काठमाडौं ।
रौतहटमा व्याक्तिको नाममा दर्ता भएकोे १ सय २२ बिघा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका –९ साविक रंगपुर गाविस–५ मा रहेको वन क्षेत्रको उक्त जमिन रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र डिभिजन वन कार्यालय रौतहट प्रमुख विनोद सिंहको पहलमा सरकारको नाममा फिर्ता गरिएको हो ।

Advertisement

गुजरा खोल्सीदेखि पूर्व आवादी गाउँदेखि पश्चिम, बागमती सिँचाइको नहरदेखि दक्षिण, गुजरा खोल्सीदेखि उत्तरको वन क्षेत्रको उक्त जमिन सर्लाही, ओखलढुंगा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक, रौतहटलगायत जिल्लाका २६ जनाले २०७२ सालमा आफ्नो नाममा दर्ता गराएका थिए । गत कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालय रौतहटको संयुक्त बैठकको निर्णयका आधारमा कात्तिक २७ मालपोत कार्यालय चन्द्रपुरले व्यक्तिको नामबाट दर्ता खारेज गरी झण्डै पाँच वर्षपछि सो जमिन नेपाल सरकारको नाममा ल्याएको हो ।

कित्ता नम्बर १ देखि २६ सम्म व्यक्तिले दर्ता गरेको सो जग्गा डिभिजन वन कार्यालय रौतहटको फैसलाले २०७६ पुस ७ गते नै बदर गरेको थियो । सामुदायिक, साझेदारी, धार्मिक, स्थानीय प्रशासन, प्रहरी, उपभोक्ता,राजनीतिक दल सबै मिलेर अतिक्रमणको चपेटामा परेको वन क्षेत्र खाली गराउने अभियान अन्तर्गत नै एक सय २२ बिघा क्षेत्रफल फिर्ता भएको हो ।

यसैबीच व्यक्तिको नामबाट हालै डिभिजन वन कार्यालय रौतहटको नाममा आएको बनक्षेत्रको जग्गा जिल्लाका प्रमुखहरुले संयुक्तरुपमा स्थलगत अनुगमन गरेका छन् । रौतहटका सिडिओ ईन्द्रदेव यादवको नेतृत्वमा गएको कार्यालय प्रमुखहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो ।