December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल: मन्त्री ढकाल

एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल: मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।तेतीसौँ विश्व एड्स दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामारीको रुपमा देखिएको एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका हुन् ।

Advertisement

उनका अनुसार नेपालले नयाँ सङ्क्रमण दर सन् २०१० देखि २०१९ सम्म ६४ प्रतिशतले घटाएको छ । सोही समयमा विश्वमा यसको दर २३ प्रतिशतले घटेको छ । यस्तै नेपालमा एड्सको कारणले हुने मृत्युदर पनि ८५ प्रतिशत र विश्वमा ३९ प्रतिशतले घटेको छ । उनले कोभिड–१९ ले एचआइभी सङ्क्रमित र एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा अझ अप्ठ्यारो र चुनौतीसमेत भएको बताए ।

सरकार विभिन्न साझेदार संस्था र नागरिक समाज सबैको सक्रियतामा कोभिड–१९ को विषम परिस्थितिमा पनि एचआइभी सङ्क्रमितलाई एआरभी औषधि उचित र निरन्तर वितरण गरिएको बताए । सन्देशमा उनले सरकारको राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६–२०२१ अनुसार ९० प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतमा औषधि उपचारको पहुँच हुने र औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य प्राप्तिका लागि एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको बताए ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धताका साथ योजनाबद्ध रुपमा काम भइरहेकोसमेत उनले जानकारी दिए । सरकारले सङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरेको छ ।

उनले दिवसको अवसरमा सबैलाई एचआइभीविरुद्धको अभियानमा ऐक्यबद्धता एवं प्रतिबद्धता जनाउनसमेत आह्वान गरे । उनले एचआइभी क्षेत्रमा कार्यरत रहेका सरकारी, गैरसरकारी सङ्घसंस्थालाई राष्ट्रिय रणनीतिअनुसार उद्देश्य प्राप्तिका लागि थप क्रियाशील हुनसमेत आग्रह गरे ।

मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले सम्पूर्ण साधन, स्रोत र क्षमताको प्रयोग गर्नुपर्ने वर्तमान परिस्थितिमा रहेको भन्दै महामारीको बेलामा सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित नहुने बताए । आज विश्वभरि ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइँदै छ ।