January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

चालु आर्थिक वर्षको चार महिनामा २५ अर्ब २७ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात

चालु आर्थिक वर्षको चार महिनामा २५ अर्ब २७ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात

मंसिर २२, काठमाडौं ।
चालू आर्थिक वर्षको चार महिनामा मात्रै २५अर्ब रुपैयाँ बराबरको चामल, मकै, भटमास, कोदो, गहुँ जस्ता खाद्य पदार्थको आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि गत वर्षको तुलनामा यस वर्ष खाद्यान्नको आयात ९९ प्रतिशतले वृद्धि भएको हो ।

Advertisement

साउनदेखि कात्तिक महिनासम्म मुलुकमा २५ अर्ब २७ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको आयात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक छ । गत वर्ष सोही अवधिमा १२ अर्ब ५६ करोड ६४ लाख १२ हजार रुपैयाँको खाद्य पदार्थ आयात भएको थियो । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् ।

Advertisement

सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर खाद्य पदार्थ आयातको अवस्थालाई हेर्दा भने कृषि प्रधान देश बन्न सकेको देखिँदैन । कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ । जसका कारण स्थानीय उत्पादनले बजार माग पूरा गर्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न आयात भएको हो । छिमेकी मुलुक भारतबाट सवै भन्दा धेरै खाद्यान्न आयात भएको छ । मानिसको प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिसँगै मसिना र बास्नादार चामलको माग बढ्दै गएकाले चामलको आयात बढ्दो देखिएको हो । केन्द्रका अनुसार चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात भएको छ ।

साउनदेखि कात्तिकसम्म १ लाख ९८ हजार टन अर्थात् १९ करोड ८३ लाख किलो चामल आयात भएको छ । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो । गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार टन चामल आयात भएको थियो । यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसकेको छ ।

यस्तै कुखुरा र पशुपंक्षी पाल्ने कृषकको संख्या बढेको भन्दै पशुपालन र पोल्ट्री व्यवसाय फष्टाउँदै गएको र त्यसका लागि आवश्यक दाना प्रयोजनका लागि विशेष गरी मकै र भटमासको पिना आयात अधिक रहेको छ । गत वर्ष एक वर्ष अवधिमा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो ।