September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

अधिक तरलता सिर्जना भएपछि बैंकहरुले फेरि घटाए ब्याजदर, कुन बैंकको कति ?

अधिक तरलता सिर्जना भएपछि बैंकहरुले फेरि घटाए ब्याजदर, कुन बैंकको कति ?

माघ १, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरुले माघ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बजारमा अधिक तरलता सिर्जना भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । तरलता अभाव हुँदा साधारण निक्षेपकै ५÷६ प्रतिशतसम्म ब्याज दिने बैंकहरुले अहिले निक्षेपको ब्याजदर १.५ प्रतिशत कायम गरेका छन् ।

बैंकहरूले निक्षेपको ब्याजदर तीव्र रूपमा घटाए पनि त्यसको जानकारी सम्बन्धित निक्षेपकर्तालाई दिएका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चौथो महिनाको मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ । तर धेरै बैंकहरुले साधारण निक्षेपकर्ताहरूलाई १.५ मात्र ब्याजदर दिने गरेका छैनन् । अधिकांश वाणिज्य बैंकहरुले छोटो अवधिको मुद्दति निक्षेपको ब्याजदर ४ प्रतिशतमा झारेका छन् । लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर भने बढीमा ८ प्रतिशतसम्म छ । यस्तो ब्याजदर ३ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्र दिने गरेका छन् ।

Advertisement

कुन बैंकको निक्षेप र कर्जाको नयाँ ब्याजदर कति ?

एनआइसी एसिया बैंक 

माघ १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर १.५०% मात्र दिने जनाएको छ । सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५०% सम्म ब्याज पाइनेछ । बैंकको मंसिर मसान्तसम्मको आधार दर ६.६५% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले १३% देखि १५% सम्म ब्याजदर निर्धारण गरेको छ । 

 नेपाल एसबीआई बैंक 

नेपाल एसबीआई बैंकले बचतको ब्याजदर ०.५०% देखि ३% तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५०% र न्यूनतम ३% निर्धारण गरेको छ । यता, बैंकको मंसिर मसान्तसम्मको बेस रेट ७.९३% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । 

 नबिल बैंक

 नबिल बैंकले बचतमा न्यूनतम १.५०% देखि अधिकतम ३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५०% ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिना अवधिको मुद्दति ब्याजदर ४% निर्धारण गरेको छ ।

यता, बैंकको मंसिर मसान्तसम्म बेस रेट ६.१२%  छ । यसमा ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

  सेञ्चुरी कमर्सियल बैंक 

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४.५०% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । अघिल्लो महिना एक वर्षभन्दा माथिको मुद्दति निक्षेपको लागि बैंकले ८% ब्याजदर दिएको थियो ।

यता, बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.४७% रहेको छ । यसमा ३% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको भनाई छ । यता, बैंकले घर कर्जाका लागि ११.४९% देखि १२.९९% स्थिर ब्याज दर निर्धारण गरेको छ । 

 एनएमबि बैंक

 एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.१% र अधिकतम ५.१% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ५.७५% निर्धारण गरेको छ । असोज मसान्तसम्मको अधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम १२.२४% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 नेपाल बैंक

 नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६.८१% छ । यसमा १% देखि ४.६६% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर कर्जाको ब्याजदर ९.३५५ देखि १३.९३% सम्म छ ।

  कृषि विकास बैंक

 कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०% निर्धारण गरेको छ भने अधिकतम ब्याजदर ५% छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.२५% कायम गरेको छ । मुद्दतिको न्यूनतम ब्याजदर ६.२५% निर्धारण भएको छ । बैंकको मंसिर मसान्तसम्मको आधारदर ८.४८% छ । यसमा अधिकतम ५% सम्म प्रिंमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ ।  

एभरेष्ट बैंक 

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.५०% तोकेको छ । मंसिर मसान्तसम्म बैंकको आधार दर ६.५०% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

  हिमालयन बैंक

 हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% र न्यूनतम ४% निर्धारण गरेको छ । मंसिर मसान्तसम्मको अधारदर ६.८८% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.४९% देखि अधिकतम १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ । 

माछापुच्छ्रे बैंक 

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७% निर्धारण गरेको छ । मंसिर मसान्तसम्म बैंकको आधारदर ७.८२% छ । यसमा बैंकले ६.५०% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । 

  सिभिल बैंक

 सिभिल बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । त्यस्तै, तीन महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ५.५०% कायम भएको छ । यता, बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.८८% रहेको छ । यसमा ३% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।

  कुमारी बैंक 

कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५% देखि ७% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको मंसिर महिनामा आधार दर ८.०१% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ । 

 सानिमा बैंक

सानिमा बैंकले बचतको ब्याज न्यूनतम २% र अधिकतम ब्याजदर ४% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याजदर अधिकतम ६.५०% र न्यूनतम ५.५०% निर्धारण गरेको छ । यता, मंसिर मसान्तसम्मको आधार दर ६.९०% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्दै आएको छ । 

 सिद्धार्थ बैंक

 सिद्धार्थ बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६% देखि अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ ।

यता, यसको मंसिर महिनामा आधार दर ७.५६% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ । 

ग्लोबल आइएमई बैंक 

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७% ब्याज निर्धारण गरेको छ । बैंकको असोज मसान्तसम्मको ब्याजदर ७.२५% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने बैंकले जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ७.९९% अधिकतम १३.९९% सम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने बैंकले बताएको छ ।