September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

कोभिडपछिको राहत र पुनरुत्थानका लागि ६ खर्ब ६५ अर्ब रूपैयाँ आवश्यक

कोभिडपछिको राहत र पुनरुत्थानका लागि ६ खर्ब ६५ अर्ब रूपैयाँ आवश्यक

माघ ६, काठमाडौं ।
कोभिड १९ को प्रभाव न्यूनीकरण र रणनीतिगत राहत तथा पुनरुत्थानका लागि कूल ६ खर्ब ६५ अर्ब रूपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्रिय योजना आयोगले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति कार्यान्वयनका लागि उक्त रकम आवश्यक पर्ने जनाएको हो । महामारीका कारण आर्थिक गतिविधि सुस्त भएको, उत्पादन घटेको तथा रोजगारी संकुचित भएको आयोगको निष्कर्ष छ ।

यी सबै सूचकलाई पहिलेकै अवस्थामा ल्याउनका लागि विभिन्न ५ क्षेत्रमा रणनीतिक लगानी गर्नुपर्ने बताइएको छ । आयोगले संक्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्वन तथा आत्मनिर्भर अभिवृद्धिका लागि अल्पकालिन ३६.४५ प्रतिशत, मध्यमकालिन ४३.२५ प्रतिशत र दीर्घकालिन २०.४५ प्रतिशत स्रोतको आवश्यकता रहेको पनि जनाएको छ ।

Advertisement

राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरेको विवरणअनुसार संक्रमण नियन्त्रण तथा राहतका लागि कूल २ खर्ब ६९ अर्ब रूपैयाँ आवश्यक पर्नेछ । यो रकममध्ये तत्काल २ खर्ब ११ अर्ब आवश्यक पर्ने तथा मध्यकालका लागि ३५ अर्ब २८ करोड र दीर्घकालका लागि १८ अर्ब २९ करोड रूपैयाँ आवश्यक पर्ने योजना आयोगको भनाइ छ ।

यसैगरी रोजगारी सिर्जनाका लागि कूल ९२ अर्ब ६२ करोड रूपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यसमध्ये तत्काल १३ अर्ब, मध्यकालका लागि ६० अर्ब ८६ करोड र दीर्घकालीन १८ अर्ब ७० करोड रूपैयाँ आवश्यक पर्ने आयोगको भनाइ छ । आयोगले नयाँ प्रणाली विकास तथा अवलम्बनका लागि १ खर्ब १९ अर्ब रूपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ ।

जसमा तत्काल ४ अर्ब रूपैयाँ आवश्यक पर्ने तथा मध्यकालका लागि ८४ अर्ब ७० करोड र दीर्घकालका लागि ३० अर्ब ८६ करोड रूपैयाँ आवश्यक पर्ने आयोगले जनाएको छ । आत्मनिर्भरता अभिवृद्धितर्फ तत्काल ५ अर्ब, मध्यकालका लागि २३ अर्ब र दीर्घकालका लागि ४५ अर्ब रूपैयाँ आवश्यक पर्ने आयोगले जनाएको छ ।