April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आर्थिक वर्षको ६ महीनामा वीरगञ्ज नाकाबाट कुल २ खर्ब २९ अर्ब रुपैयाँबराबरको व्यापार

आर्थिक वर्षको ६ महीनामा वीरगञ्ज नाकाबाट कुल २ खर्ब २९ अर्ब रुपैयाँबराबरको व्यापार

माघ ७, काठमाडौं ।
देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट आर्थिक वर्ष ०७७÷७८ को ६ महीनामा कुल २ खर्ब २९ अर्ब रुपैयाँबराबरको व्यापार भएको छ । चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा उक्त नाकाबाट २ खर्ब १० अर्ब रुपैयाँबराबर मूल्यको आयात र १९ अर्ब ५३ करोड ९० लाख रुपैयाँ बराबरको विभिन्न सामग्री निकासी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै भएको आयातनिर्यातमा मात्रै १ अर्ब ९० अर्ब रुपैयाँ व्यापारघाटाको तथ्यांकमा उल्लेख छ ।

Advertisement

पछिल्लो समयमा अधिकांश आयातित वस्तुको परिमाण घटेको भन्सारको तथ्यांक छ । कोरोना महामारीका कारण बजारमा परेको प्रभाव आयातमा पनि देखिएको हो । जसकारण अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा आयातको आकार करीब १२ प्रतिशतले घटेको छ । गतवर्ष साउनदेखि पुससम्ममा २ खर्ब ३८ अर्ब रुपैयाँको आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालय हुँदै मुख्य रुपमा पेट्रोलियम पदार्थ, पत्थर कोइला, सिमेन्ट क्लिङ्कर, तयारी कपडा, मदिरा जन्य पदार्थहरु, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेशिनरी तथा कच्चापदार्थ र नयाँ सवारी साधन आयात हुने गरेको छ ।

Advertisement

आर्थिक वर्षको ६ महीनामा निर्यात भने ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुससम्म १८ अर्ब रुपैयाँबराबरको मालसामान निर्यात भएको थियो । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयल अग्रस्थानमा रहेको थियो । गत आवको ६ महिनामा दुई अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरकोे दुई करोड २३ लाख ४७ हजार लिटर तेल निर्यात भएको थियो ।

आर्थिक वर्षको ६ महीनामा ११ अर्ब ५५ करोड ८१ लाख रुपैयाँका भटमासको तेल निर्यात भएको वीरगञ्ज भन्सारको तथ्यांकमा उल्लेख छ । वीरगञ्ज नाकाबाट जुस, कपडा, दन्तमञ्जन, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैँचा कार्पेट र पिना पनि भारत निकासीका मुख्य वस्तु हुन् । त्यसैगरी आयुर्वेदिक औषधि, स्टिलका भाँडाकुँडा, कागजका बाकस, सिआर सीटलगायत वस्तु निर्यात भएको भन्सारले बताएको छ ।