April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको काठमाडौँमा शक्ति प्रदर्शन

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको काठमाडौँमा  शक्ति प्रदर्शन

माघ ९, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दैछ । एक लाखभन्दा बढीको संख्यामा कार्यकर्ता काठमाडौँ उतारेर नेकपाले शक्ति प्रदर्शन गर्ने जानकारी दिएको हो ।

Advertisement

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेपछि प्रचण्ड – नेपाल समूहले विरोध प्रदर्शन गर्दै आएको छ । यसअघि नेकपाले गत पुस १४ गते पनि उपत्यकामा प्रदर्शन गरेको थियो । प्रतिनिधिसभा पुनःस्थापना तथा विघटनको विरोधमा आज आयोजित शक्ति प्रदर्शनअघि राजधानीका विभिन्न ९ स्थानबाट जुलुस निकालिने छ । त्यसका लागि नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले निर्देशिका नै जारी गरेर पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन, मोर्चालगायतका साङ्गठानिक संरचनालाई प्रदर्शनमा सहभागी हुन निर्देशन दिएको छ ।

Advertisement

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले विरोध प्रदर्शन र सभाको कार्यतालिका र जुलुसलाई मर्यादित बनाउनका लागि निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिले जनाएको छ ।

जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन् । विरोध सभालाई प्रचण्ड, नेपाल, झलनाथ खनाललगायतका सो समूहका नेताले सम्बोधन गर्नेछन् । त्यस्तै जुलुस सुरु हुन थालेसँगै काठमाडौँको माइतीघर, त्रिपुरेश्वर, पुतलीसडक, प्रदर्शनी केन्द्र, रत्नपार्क जमल आसपासको ट्राफिक अस्तव्यस्त बनेको छ ।