एनसीसी बैंकले १०.२६ प्रतिशत बोनस दिने
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको वार्षिक साधारणसभाले १०.२६९५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । बैंकको कार्यालय बागबजारमा बसेको बैंकको २३ औँ वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको हो । बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्ने छ ।
बैंकले आर्थिक वर्ष २०७६÷७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।
साधारण सभाबाट ६ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरिएको छ । संस्थापक समूहबाट सञ्चालकहरुमा उपेन्द्रकेशरी न्यौपाने, मोहनबहादुर बस्नेत, ईमानसिंह लामा र सर्वसाधारण समूहबाट चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान सञ्चालक निर्वाचित भएका हुन् । आजै बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालनमा छन् ।
प्रतिकृया दिनुहोस्