March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

चिकित्सकको परामर्श शुल्क तत्काल वृद्धि नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन

चिकित्सकको परामर्श शुल्क तत्काल वृद्धि नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन

फागुन ६, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क तत्काल वृद्धि नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । प्राइभेट हेल्थ इन्स्टिच्युसन एसोसिएसन (अफिन) र नेपाल चिकित्सक संघले मन्त्रालयसँग परामर्श नगरी शुल्क वृद्धि गरेको भन्दै यस्तो निर्देशन दिएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शुल्क वृद्धिका विषयमा संघ र मन्त्रालयबीच छलफल भएको तर मन्त्रालयले अन्तिम निर्णय नगरिसकेका भन्दै नयाँ शुल्कमा मन्त्रालयको सहमति नरहेको बताएका हुन् । उनले सरकारले २०७१ भदौ १ गते निर्धारण गरेकै शुल्क कायम राख्न अस्पतालहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले मुल्यबारे चिकित्सक संघ, अफिन लगायतसँग छलफल गर्न तयार रहेको समेत बताए । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको थियो ।

संघ र अफिनको मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकेको हो । यसअनुसार चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ रुपैयाँ पुगेको छ र, यसमा अस्पतालले २० प्रतिशतसम्म थप शुल्क जोड्न सक्नेछ ।

Advertisement