September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

चालु आर्थिक वर्षको ७ महिनामा ६९ अर्ब ९२ करोडको वस्तु निर्यात

चालु आर्थिक वर्षको ७ महिनामा ६९ अर्ब ९२ करोडको वस्तु निर्यात

फागुन ९, काठमाडौं ।
कोभिड–१९ महामारीका बाबजुद नेपालको निर्यात व्यापारमा सुधार भएको छ । चालु आर्थिक वर्षको सात महिना (साउन–माघ) मा ६९ अर्ब ९२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक अनुसार यस अवधिमा निर्यात गत आर्थिक वर्षको तुलनामा ७.६१ प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा ६४ अर्ब ९७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन भई भारत निर्यात गरेकै आधारमा केही वस्तुका कारण निर्यात बढ्दै गएको तथ्यांकले देखाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको माग बढ्न थालेपछि निर्यातमा सुधार हुँदैे गएको हो । नेपालले दश वर्षअघि नै वार्षिक निर्यात एक खर्ब पु¥याउने लक्ष्य राखेको भएपनि अहिलेसम्म उक्त लक्ष्य पुरा हुन सकेको छैन । यही वृद्धिदर कायम भए चालु आर्थिक वर्षमा नेपालको वार्षिक निर्यात एक खर्ब पुग्न सक्छ । विभागका अनुसार पुस महिनामा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै, मंसिर महिनामा ५० अर्ब, ५५ करोड ६० लाख ८ हजार रुपैयाँको निर्यात भएको थियो ।

Advertisement

कात्तिक महिनामा ४० अर्ब ४९ करोड १७ लाख ८ हजार,असोजमा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजार रुपैयाँको निर्यात भएको थियो । भदौ महिनामा २० अर्ब, ४४ करोड ३० लाख २२ हजार रुपैयाँ र साउन महिनामा ८ अर्ब ६२ करोड ४९ हजार रुपैयाँको निर्यात भएको थियो । नेपालको कुल निर्यातमध्ये सबैभन्दा ठूलो व्यापार साझेदार भारततर्फको निर्यात ९ प्रतिशतले बढेको छ । गत वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको निर्यात ४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष भारततर्फ निर्यात ४५ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । यस्तै अमेरिकामा निर्यात १५.७७ प्रतिशत बढेको छ । अमेरिकामा गत वर्ष साउनदेखि माघसम्म कुल ६ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा यो वर्ष ७ अर्ब ७१ करोड रुपैयाँ पुगको छ । यस्तै जर्मनीतर्फ नेपालको निर्यात ३.६ प्रतिशतले बढेर २ अर्ब रुपैयाँ नाघेको छ ।

बेलायततर्फ पनि नेपालको निर्यात १.६९ प्रतिशतले बढेको छ । बेलायतमा नेपालको कुल निर्यात १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । नेपालबाट भटमासको तेल, कार्पेट, धागो, चिया, अलैंची, फेल्टका उत्पादन, जुस, अदुवा, मेडिकल हब्र्स, पस्मिना, चाउचाउ, आइरन स्टील, मसुराको दाल, टेक्सटाइल, हस्तकलाका सामग्री, ज्वेलरी लगायतका अन्य उत्पादनहरू निर्यात हुने गर्छ । यस अवधिमा भटमासको तेलको निर्यात करीब २२९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा १९ अर्ब ५९ करोडको भटमासको तेल निर्यात भएको छ । जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।

व्यवसायीहरूले पामजस्तै कच्चा भटमास पनि अन्य मुलुकबाट आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन् । यस्तै यसअवधिमा १० हजार लिटर सूर्यमुखी तेल निर्यात भएको छ । खाने तेलसँगै यस अवधिमा अलैंची, घरपालुवा कुकुर बिरालाको आहारा, बोराको झोला, जुटका कपडा, अम्रिसो लगायतका वस्तुको निर्यातमा वृद्धि भएको छ । अघिल्लो वर्षसम्म राम्रो रहेको पाम तेल, सिन्थेटिक यार्न, सल, दोसल्ला, फलामे पाता, खोटो लगायत वस्तुको निर्यात भने घटेको छ । यस अवधिमा डिजेल, पेट्रोल, अलकत्रा (बिटुमिन), ट्रान्सफर्मर, निर्माण सामग्री, गहुँ, मरिच लगायत सामग्रीको आयात घटेको देखिएको छ ।

यस्तै, कच्चा भटमास र सूर्यमुखी, चिनी, धान, सुन, डीएपी मल, सुन, मोबाइल र मोटरसाइकल जस्ता सामग्रीको आयात भने बढेको विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म कूल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो । नेपालले विदेशबाट १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो । गत आवमा ७ खर्ब ३७ अर्बको व्यापार घाटा थियो ।