April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

चालू आार्थिक वर्षको ७ महिनामा ७ खर्ब ३३ अर्ब व्यापारघाटा

चालू आार्थिक वर्षको ७ महिनामा  ७ खर्ब ३३ अर्ब व्यापारघाटा

फागुन १०, काठमाडौं ।
चालू आार्थिक वर्षको ७ महिनामा नेपालले वैदेशिक व्यापारमा ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापारघाटा गत आवको सोही अवधिको तुलनामा ०.६६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा नेपालले ७ खर्ब ३८ अर्ब ६३ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

Advertisement

निर्यातको तुलनामा आयात बढी गर्दा व्यापारघाटा हुन्छ । विभागको तथ्याङ्कअनुसार ७ महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत माघमा मात्रै गत आर्थिक वर्ष भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा १ खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा १ खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब चार करोड र असोजमा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

Advertisement

यसैगरी कात्तिकमा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड, पुसमा रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा रु ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो ।

नेपालले भारत, चीन, बंगलादेश, अमेरिकालगायतका तेस्रो मुलुकहरूसँग उच्च परिमाणमाा वस्तु आयात गर्छ । यसको तुलनामा निर्यातको अवस्था भने अत्यन्त कमजोर छ । यस अवधिमा निर्यात ८ प्रतिशतले वृद्धि भएको छ । गत आवको सात महिनाको अवधिमा ६४ अर्ब ९७ करोड १२ लाखको वस्तु निर्यात गरेको नेपालले चालू आवको सोही समयमा भने ६९ अर्ब ९१ करोड ७० लाखको वस्तु विदेश पठाएको छ । नेपालबाट ठूलो मूल्यमा निर्यात हुनेमा भटमासको तेल, फुटवेयर, गार्मेन्ट, जुटजन्य सामग्री, अलैँची, अदुवालगायतका सामग्री विदेश निर्यात हुन्छन् ।