April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको खोप

पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको खोप

फागुन १२, काठमाडौं ।
नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा लक्षित वर्गमध्ये ८५.६५ प्रतिशतले कोभिसिल्ड खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागले कोभिड–१९ खोप अभियानको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो । तथ्यांकानुसार पहिलो चरणको तीन ‘लट’मा जम्मा चार लाख २९ हजार ७०५ जनाले खोप लिएका हुन् ।

यो नेपालको जनसंख्याको १.४ प्रतिशत हो । विभागले पहिलो प्राथमिकताको पहिलो चरण माघ १४ देखि २४ गतेसम्म खोप कार्यक्रम गरेको थियो । जसमा एक सय ८६ खोप केन्द्र मार्फत एक लाख ८५ हजार आठ सय ६५ जनाले खोप लगाएका थिए । पहिलो चरणमा नै माघ २६ देखि ३० सम्म काठमाडौँमा थप केन्द्रहरु खोलेर पत्रकार कूटनीतिक नियोग र यूएन एजेन्सीका कर्मचारीलाई खोप दिने व्यवस्था गरिएको थियो । थपिएको तीन केन्द्रमा कुल ३ हजार ४८० जनाले खोप लगाएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरण फागुन २ देखि १० सम्म खोप लगाइएको थियो । जसमा दुई सय २२ खोप केन्द्रबाट दुई लाख ४० हजार तीन सय ६० जनाले खोप लगाएका थियो । दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेदेखि सुरु हुँदै छ । दोस्रो चरणको अभियानमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ भने जोखिमका आधारमा लक्षित वर्ग थप गर्दै लैजाने मन्त्रालयले जनाएको छ ।

Advertisement