रसुवागढी हाइड्रो आइपीओ जारी गर्ने तयारीमा
२२ मंसिर, २०७६, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित रसुवाका स्थानीयलाई आईपीओ जारी गर्ने तयारी गरेको छ । कर्मचारी र सर्वसाधारणलाई आईपीओ जारी गरिसकेको कम्पनीले अन्तिम चरणमा स्थानीयलाई जारी गर्न लागेको हो ।
भूकम्पबाट प्रभावित यस जिल्लाका स्थानीयलाई आयोजनाबाट अति प्रभावित र प्रभावित वर्ग छुट्याएर शेयर जारी गर्ने तयारी कम्पनीको छ । सम्भवत् आगामी हप्ताभित्र सर्वपक्षीय भेलामार्फत आवश्यक निर्णयहरू गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि विवरणपत्र पेश गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई जारी पूँजी रू. ६ अर्ब ८४ करोड २१ लाखको १० प्रतिशतका दरले ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर जारी गर्नेछ । २०७२ सालको भूकम्पले प्रभावित रसुवाका स्थानीयले त्यो समयमा पुनर्निर्माण कार्य गरिरहेको अवस्थामा शेयरमा लगानी गर्न असमर्थ भएको भन्दै निष्कासन प्रक्रिया पछाडि सार्न आग्रह गरेपछि कम्पनीले सरोकारवाला निकायहरूसँग समन्वय गरी सो व्यवस्था मिलाएको हो ।
कम्पनीले सर्वसाधारणलाई सार्वजनिक रूपमा शेयर निष्कासन गर्ने क्रममा पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारीहरू, संस्थापक संगठित संस्थाका कर्मचारीहरू र ऋणदाता संस्थाका कर्मचारीहरूका लागि जारी पूँजीको २४ प्रतिशतका दरले १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर २०७४ चैत १८ गते बाँडफाँट गरेको थियो । त्यस्तै दोस्रो चरणमा जारी पूँजीको १५ प्रतिशतका दरले १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर २०७६ वैशाख १९ गते बाँडफाँट गरेको हो । संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ शेयर स्वामित्व रहेको यस कम्पनीले बाँकी १० प्रतिशत शेयर स्थानीयमा विक्री गर्न लागेको हो । संस्थापकतर्फको शेयरमा ३२ दशमलव ७९ प्रतिशत चिलिमे जलविद्युत् कम्पनी , १८ प्रतिशत नेपाल विद्युत् प्राधिकरण र शून्य दशमलव २ प्रतिशत रसुवा जिल्लाको स्थानीय तहको स्वामित्व रहेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको यस कम्पनीले रसुवा जिल्लामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजनको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । २०७६ फागुन ७ गतेदेखि व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य अनुरुप कार्य भईरहेको छ । कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब १५ करोड ७८ लाख ९० हजार कायम भएको छ । यस आयोजनाबाट वार्षिक रू. ६१ करोड ३८ लाख ७५ हजार विद्युत् उत्पादन गरी वार्षिक रू. ३ अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको ब्याज बाहेकको कुल लागत रू. १३ अर्ब ६८ करोड ४२ लाख रहेको छ ।
कर्मचारी र सर्वसाधारणको शेयर बाँडफाँटको ३ महीनापछि गत साउन २० गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको थियो । बिहीवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १७३ कायम भएको छ । गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै कम्पनीले मंसिर १९ गते सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस्