January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

आन्तरिक उडानमा कोरोना असर न्यून, एक महिनामै ३ लाख ६४ हजारले गरे हवाई यात्रा

आन्तरिक उडानमा कोरोना असर न्यून, एक महिनामै  ३ लाख ६४ हजारले गरे हवाई यात्रा

चैत ३०, काठमाडौं ।
कोरोना भाइरसको कारण आन्तरिक उडानमा परेको असर न्युुन भएको छ । कोरोनाको सम्भावित जोखिमको कारण विदेशी पर्यटक आगमन घटेको तथा आन्तरिक यात्रुको चहलपहल पनि कम भएको थियो । तर पछिल्लो महिनाको हवाई यात्रुको संख्या हेर्ने हो भने आन्तरिक उडान गर्दै आएका एयरलाइन्स कम्पनीले कोरोना असर भोग्न नपरेको तथ्यांक सार्वजनिक भएको छ । छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्र र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा समेत नराम्रो असर परेको थियो ।

कोरोनाका कारण २०२०का मार्चदेखि ६ महिनासम्म ठप्प जस्तै भएको आन्तरिक उडानमा ठूलो प्रभाव देखिएको थियो । तर, सन् २०२१ को मार्चमा आउँदा केही सहज अवस्थमा आइपुगको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मार्च महिनाको आन्तरिक हवाई यात्रु अहिलेसम्म बढी भएको छ । कोरोना कहरकै बीच सन २०२१ मार्चमा ७ हजार ८ सय ६४ वटा उडान तथा अवतरण भएको छ । मार्च महिनामा मात्रै आन्तरिक हवाई यात्रा गर्नेको संख्या ३ लाख ६४ हजार ४ सय ७१ रहेको छ । मार्च महिनामा ७ हजार ८ सय ४६ वटा उडान तथा अवतरण भएका छन । त्यसमा पनि काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या १ लाख ७३ हजार ५सय ५९ रहेको छ भने बाहिरबाट काठमाडौं आउनेको संख्या १ लाख ७२ हजार ८ सय ७९ रहेको छ ।

आन्तरिक हवाई उडानमा सबैभन्दा बढी यात्रु भने बुद्ध एयरले बोकेको छ । बुद्ध एयरले ३ हजार २ सय २१ उडान तथा अवतरणमार्फत १ लाख ८५ हजार १ सय ५५ यात्रुलाई हवाई सेवा दिएको छ । यसैगरी यती एयरलाइन्सले १ हजार ७ सय ४४ वटा उडान तथा अवतरणमार्फत ८७ हजार ९ सय ७० यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ। यसैगरी श्रीले ५४ हजार २ सय ४९ , सौर्यले ८ हजार ५ यि २६ र नेपाल एयरलाइन्सले २ हजार १ सय ९८ यात्रुलाई सेवा दिएको छ । सन् २०१९मा उडान संख्या अहिलको भन्दा बढी थियो । सन् २०१९मा कुल ८ हजार २ सय ७१ थियो। तर, उडान संख्या बढी भए पनि यात्रु संख्या भने अहिलेको सन् २०२१ को भन्दा कम थियो । आन्तरिक हवाई यात्रु बढनुको प्रमुख कारण सजह र सस्तो दरको हवाई टिकट नै प्रमुख कारण रहेको एयरलाइन्स कम्पनीका सञ्चालकहरु बताउँछन ।

Advertisement