January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित

सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित

बैशाख २, काठमाडौं ।
सरकारले सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित गरेको छ । संसदीय समितिको छानविन र व्यवसायीको चर्को दबाबपछि सरकारले कोटा प्रणाली स्थगित गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोटा वितरण कार्य हाललाई स्थगित गरिएको जनाएको छ । यसअघि सुपारी २५ हजार, केराउ ८० हजार, मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो ।

Advertisement

’उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट नेपाल राजपत्र खण्ड ७० संख्या ४७ भाग ५ गत चैतमा प्रकाशित सुचनाअनुसार यस विभागबाट भइरहेको केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको पैठारीको कोटा वितरण कार्य हाललाई स्थगित गरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले २०७६ चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । कोभिडका कारण शिथिल बनेको अर्थतन्त्र सुधारोन्मुख भएपछि सरकारले पुनः सूचना प्रकाशन गरेर कोटा तोकेर आयात खुला गरेको थियो ।

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएपछि दुई साताको अवधिमा आयात गर्न कोटाभन्दा १८ गुणा बढी माग आएको थियो । सरकारले चालु आर्थिक वर्षका लागि केराउ आयात कोटा ८० हजार टन र सुपारीको आयात पूर्ण बन्देज हटाएर २५ हजार टन तोकेको थियो । २ सय ५० आयातकर्ताले ४ लाख ७८ हजार ८ सय ४६ टन आयात गर्न आवेदन दिइसकेका थिए । तेस्रो मुलुकबाट आयातित सुपारी नेपालबाट अवैध रुपमा भारत निकासी भएको विषय नेपाल–भारत व्यापार वार्तामा भारतीय अधिकारीले गम्भीर रूपमा उठाउँदै आएका थिए ।

८ वर्षअघि ५० हजार टन हाराहारीमा सुपारी इन्डोनेसिया, मलेसियालगायत तेस्रो मुलुकबाट आयात भएको थियो । भारतमा सुपारी आयातमा बढी भन्सार लगाएकाले दुई देशबीचको भन्सार अन्तरको मुनाफा खोज्ने व्यापारीले तस्करी गरेका थिए । भारतमा सुपारीमा ८० प्रतिशत भन्सार थियो । तेस्रो मुलुकबाट सुपारी ल्याउँदा कागजी प्रक्रियामा ५ प्रतिशत कटाउँदा ४५ प्रतिशत सोझै मुनाफा थियो । नेपालमा सुपारी आयातमा २५ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था थियो ।