विदेशमा रहेका कामदारका लागि बचतपत्र निष्काशन
पुष २, काठमाडौं ।
नेपाल राष्ट्र वैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि लक्षित गर्दै वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । राष्ट्र बैंकले मंगलबारदेखि २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८१’ को बिक्री खुलाएको हो । राष्ट्र बैंकले वैदेशिक रोजगारीलगायत अन्य काम विशेषले विदेशमा रहेका नेपाली नागरिक र उनीहरूको परिवारलाई लक्षित गरी १० प्रतिशत ब्याजमा वैदेशिक रोजगार बचतपत्र विगतदेखि नै ल्याउँदै आएकोमा पछिल्लो समय फेरी निष्काशन गरेको हो । २० करोड रुपैयाँको यस बचतपत्र वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफ्ना परिवारका सदस्य नाममा खरिद गर्न सक्नेछन् । विशेषगरी विदेशमा कमाएको रेमिट्यान्स रकम आफ्नो जन्मथलोमा ल्याएर बचत गरी उत्पादनमूलक काममा प्रयोग गर्ने उद्देश्यसाथ ल्याइएको यस बचतपत्रमा सहभागी हुनेहरूले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन् । बचतपत्र खरिद गर्नेहरूले सहभागी भएको हरेक ६ र ६ महिनामा ब्याज भुक्तानी पाउने ब्यवस्था गरेको छ । बचतपत्रको आगामी ५ वर्षमा साँवा भुक्तानी हुनेछ । राष्ट्र बैंकले बचतपत्र खरिदकर्ताका लागि चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने सुविधा समेत दिएको छ ।
प्रतिकृया दिनुहोस्