सूर्योदयमा २३ करोडको लगानीमा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने
पुष, ३ इलाम ।
चियाको राजधानी सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि कार्य प्रारम्भ गरिने यो परियोजनाले नेपालको कृषि उत्पादनबाट निर्यात बढाउन समेत मद्दत पुग्ने देखिन्छ । नयाँ सझौताले ७० प्रतिशत अर्थोडक्स चिया उत्पादन गर्दै आएको टि टेस्टिङ सेन्टर निर्माणपछि चियाको बजारीकरण प्रवद्र्धनमा उल्लेख्य उपलब्धि हासिल हुने विश्वास गरिएको छ । केन्द्र स्थापना गर्न करिब २३ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाका लागि ५ करोड रुपैया उपलव्ध गराउँने छ । देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रूपमा स्थापना हुने यसले देशकै चिया विकासमा ठूलो टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्ने देखिन्छ । सूर्योदय नगरपालिकामा वार्षिक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्