August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

वैदेशिक रोजगार क्षेत्र तंग्रिन नपाउदै पुनः संकटमा

वैदेशिक रोजगार क्षेत्र तंग्रिन नपाउदै पुनः संकटमा

वैशाख १५, काठमाडौं ।
युरोप तथा एसियाली मुलुकका साथै मध्यपूर्वी देशहरूमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा परेको छ । गत वर्षको कोरोना महामारीपछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्र कोरोनाको दोस्रो लहर सुरु भएसंगै संकटमा परेको हो ।

Advertisement

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले गतवर्षको लकडाउनले श्रमबजारलाई अस्तव्यस्त बनाएको र पछिल्ला दिनमा संक्रमण बढेपछि लागू गरिने निषेधाज्ञा÷लकडाउन लगायत कारण यो क्षेत्र थप संकटमा पर्ने बताए । वैदेशिक रोजगारीमा संकटको अवस्था आएपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको संयोजकत्वमा व्यवसायी समेत संलग्न रहेको ‘संकट व्यवस्थापन समिति’ नै गठन गरेका छन् । सरकारले वैदेशिक रोजगारी प्रभावित हुन नदिन गर्नुपर्ने सहजीकरणको कामको लागि यो समितिले सिफारिस गर्नेछ ।

Advertisement

अहिले कोरोना महामारीले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या विगतको तुलनामा तीन चौथाइले घटेको छ । त्यस्तै ७ सय ९६म्यानपावरमा सयजना पनि श्रमिक पठाउन नसकिएको अवस्था छ । दक्षिण कोरियाले २०७६ फागुनबाटै नेपालबाट श्रमिक लागेको छैन । अहिले मलेशिया, साउदी अरब र दुबईमा नेपाली कामदार जान पाइरहका छैनन् । साउदी अरब, कतार, ओमन र मलेशियामा कामदार पठाउनेबारे अहिले म्यानपावर कम्पनीले लबिङ गरिरहेका छन् । कोरोना रोकथामका लागि चालिएका कदमका बीच नेपालीलाई सुरक्षित तवरले विदेश पठाउन सरकारले सहजीकरण गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

श्रम मन्त्रालयको तथ्यांक अनुसार २०७७ साउन १ देखि गत चैत १९ गतेसम्म ३८ हजार ८१ जना मात्र नयाँ श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति नवीकरण गरेर ६१ हजार ३४२ जना पुनः विदेश फर्किएका छन् । ३ हजार ६४२ जना श्रम स्वीकृतिको वैधानिकीकरण गरेर विदेश गएका छन् । पछिल्ला वर्षहरुमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वर्षमा करिब साढे ४ लाखदेखि ५ लाख युवा विदेश जाने गरेका थिए । चालु आर्थिक वर्ष २०७७÷०७८ मा भने त्यो संख्या डेढ लाख पनि पुगेको छैन् । यस्तै रोजगारी, अध्ययनलगायतका कार्यमा संलग्न नेपालीहरू स्वदेश फर्किन थालेका छन् । खाडीका देश, मलेसिया, युरोपेली देश, कोरिया, जापान र अफ्रिकी देशबाट घर फर्किने नेपालीको संख्या बढ्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको चैत १९ गतेसम्म ३ लाख ८१ हजार ६०८ नेपाली वैदेशिक रोजगारबाट स्वदेश फर्किएका छन् । चैतमा मात्र विदेशबाट ६० हजार नेपाली स्वदेश फर्किएका छन् । हाल दैनिक करिब ३ हजार नेपालीहरू स्वदेश फर्किरहेको विमानस्थले जानकारी दिएको छ ।

सरकारले विदेशबाट फर्किएका नेपालीलाई १० दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिए पनि उनीहरूलाई राख्ने क्वारेन्टाइनको व्यवस्था भने मिलाइएको छैन । विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई दिइएको छ । सीसीएमसीले यस विषयमा कुनै योजना बनाएको छैन । प्रभावित देशबाट स्वदेश फर्किएकाहरू स्वास्थ्य मापदण्ड पूरा गरी होम क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड बनाएको छ ।