October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

निषेधाज्ञामा सीईडीबी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने

निषेधाज्ञामा सीईडीबी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने


वैशाख १६, काठमाडौं ।
उपत्यका लगायत देशका विभिन्न जिल्लामा भएको निषेधाज्ञाका बाबजुत पनि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । पूर्ण प्रविधिमैत्री बनिसकेको धितोपत्र प्राथमिक र दोस्रो बजारको कारोबार नरोकिने सम्बद्ध निकायहरुले प्रष्ट परको समय सीईडीबी हाइड्रोपावरले आइपिओ निस्कासन गरेको हो ।

Advertisement


कम्पनीले रु. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्दे छ । सार्वजनिक निष्कासनमा आस्बा सेवा अनिवार्य रहेकाले अनलाइन मार्फतनै शेयर भर्न सकिने भन्दै निषेधाज्ञाकै बीच आईपीओ विक्री खुला हुने कम्पनीले बताएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

Advertisement


यो आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाइ छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई आईपीओ विक्रीको लागि धितोपत्र बोर्डले वैशाख २ गते अनुमति दिएको थियो ।


आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । गत आर्थिक वर्षको अन्त्यसम्म उक्त कम्पनीले रू. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।


हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीमा आईपीओ पश्चात संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । विसं २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करिब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो ।