March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

निषेधाज्ञाको दोस्रो दिन त्रिभुवन विमानस्थलबाट ७७ आन्तरिक उडान हुँदै

निषेधाज्ञाको दोस्रो दिन त्रिभुवन विमानस्थलबाट ७७ आन्तरिक उडान हुँदै

वैशाख १७, काठमाडौं ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको दोस्रो दिन आज त्रिभुवन विमानस्थलबाट ७७ उडान हुने भएको छ । शुक्रबार नेपाल एयरलाइन्सले ४, बुद्धले ३५, यतिले २०, ताराले ४, श्रीले १२ र सम्मिटले २ उडान गर्ने विमानस्थलले जनाएको छ । यसअघि निषेधाज्ञा जारी भएको पहिलो दिन बिहीबार एकै दिन १०४ आन्तरिक उडान भएको थियो । बिहीबार नेपाल एयरलाइन्सले ४, बुद्धले ४८, यतीले २७, ताराले ५, श्रीले १५ र सम्मिटले ५ उडान गरेको विमानस्थल प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए ।

Advertisement

बिहीबार आन्तरिक हवाइमार्ग प्रयोग गरेर ५४ सय यात्रु बाहिरिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार साँझसम्म हवाइमार्गबाट ५ हजार ४५३ ले काठमाडौं छाडेका थिए भने २ हजार ८१६ यात्रु काठमाडौं भित्रिए् । सवारी साधनलाई सरकारले राकेपछि हवाइयात्रा गर्नेको संख्या बढेको हो । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको भन्दै सीसीएमसीको सचिवालयले आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने बताएको छ ।

Advertisement

विमानस्थलमा भिड भइरहेकाले आन्तरिक उडान तत्काल बन्द गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको सीसीएमसीमा आवद्ध एक सुरक्षा अधिकारीले बताएका छन् । सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरे पनि आन्तरिक र बाह्य दुबै उडान बन्द गरेको छैन । खासगरी दिल्लीबाट विमान चढेर आउने यात्रुहरूबाट संक्रमणको जोखिम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले भने बेलायत र अन्य मुलुकबाट आउनेहरुका लागि अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भनेता पनि भारतबाट आउनेहरुको हकमा खुकुलो नीति लिँदै आएको छ । यसअघि राष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिकुल स्थिति देखिएमा जुनसुकै बेला हवाइ उडान बन्द गर्न सकिने बताएका थिए ।

देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत–जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको मन्त्री ज्ञवालीले बताएका थिए । तत्कालका सार्वजनिक यातायात र निजी सवारीको समेत सञ्चालन बन्द गर्ने निर्णय सरकारले निषेधाज्ञामा पनि आन्तरिक तर्फको उडान सेवा निरन्तर राख्नका लागि निजी वायुसेवा सञ्चालक कम्पनीहरुले गरेको अनुरोधलाई मानेर आन्तरिक उडान सुचारु राखेको हो ।

यस्तो अवस्थामा हवाई यात्रुहरूका लागि हवाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल आउजाउका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हवाई सेवाका यात्रुको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधिमा प्राधिकरणले साझा यातायातका बसमार्फत हवाई यात्रुहरुलाई विमानस्थल आउजाउको व्यवस्था मिलाउने नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।