August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

हिमाल आरोहणका लागि ८५ समुहका ७ सय ४२ जनाले लिए अनुमति

हिमाल आरोहणका लागि ८५ समुहका ७ सय ४२ जनाले लिए अनुमति

वैशाख १७, काठमाडौं ।
कोरोना महामारीका बीच यो पटक हिमाल आरोहणमा आरोहीको उत्साह देखिएको छ । कोरोना महामारी बीच वसन्त ऋतुको समयमा हालसम्म ७ सय ४२ जना आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार शुक्रबारसम्म ८५ समूहका ७४२ जना आरोहीले हिमाल आरोहणको अनुमति लिएका हुन् । विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उक्त आरोहीमध्ये १६१ महिला रहेका छन् । नेपालमा यो सिजनमा १६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।

Advertisement

यसमध्ये सगरमाथामा सर्वाधिक संख्यामा अनुमति जारी भएको छ । सगरमाथा आरोहणका लागि शुक्रबारसम्म ४३ समूहका ४०८ जना आरोहीले आरोहण अनुमति लिएका हुन् । यो एक सिजनमा भएको अहिलेसम्मकै ठूलो संख्या हो । यस पटक ९२ जना महिला आरोहणमा गएका छन् । यो पटक आरोही र उनीहरुका सहयोगी तथा सम्पर्क अधिकृतसमेत गरी करिब १२ सय मानिस सगरमाथा आधार शिविरमा पुगिसकेका छन् । सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् ।

Advertisement

पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । सगरमाथापछि ल्होत्सेका लागि १२५ जनाले आरोहण अनुमति लिएका छन् । अन्नपूर्णका लागि ४४ जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ । सन् २०१९ पछि पहिलो पटक आरोहण हुन लागेको हो । सन् २०२० को आरोहण सिजन भने सरकारले रद्द गरेको हो ।

कोरोनाको बिपत्तिका बेला पनि नेपालमा हिमाल चढनकालागि विभिन्न मुलुकका आरोहीहरुले देखाएको उत्साह शन्तोषजनक भएको पर्यटन व्यवसायीहरुले बताएका छन । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको हो । कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा पर्याटन विभागले लिएको छ । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएका थिए ।