August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

कोरोना महामारी तत्काल नियन्त्रणमा नआउने भएकाले अर्थतन्त्र चलायमान बनाउँन तीर लाग्नुपर्छः गोल्छा

कोरोना महामारी तत्काल नियन्त्रणमा नआउने भएकाले अर्थतन्त्र चलायमान बनाउँन तीर लाग्नुपर्छः गोल्छा


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने बताएको छ । १३२ औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा शनिबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेखर गोल्छाले यस्तो बताएका हुन् । महासंघले कोरोना महामारी तत्काल नियन्त्रणमा नआउने देखिएकाले महामारीमै अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो । यस्तो स्थितीमा जिउज्यानको सुरक्षा गर्दै आर्थिक गतिविधि अगाडि बढाउनुपर्ने बताइएको छ । अध्यक्ष गोल्छाले भने, ‘अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको छ । अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको छ ।’

Advertisement


उनले श्रम सम्बन्ध सुधारको दिशातिर बढिरहेको भए पनि दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए । उनले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने बताए ।

Advertisement


यस्तो स्थितिमा अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्नसक्ने प्रभावलाई न्यूनीकरण गर्न सबै केन्द्रित हुनुपर्ने उनको भनाइ छ । ‘विश्वभर नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने सम्भावना छैन, यस्तो स्थितिमा जिउ ज्यानको सुरक्षाका साथै आर्थिक गतिविधिलाई चलायमान बनाइराख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउनजस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय सञ्चालनमा संकुचन आउने र यसबाट रोजगारीसमेत प्रभावित भई थप संकट थपिने होकि भन्ने त्रास बढ्न गएको छ ।’

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडि आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्ने बताए । संघईले बाँच र बचाउको यो कठिन अवस्थाबाट चाँडै मुक्त हुने अपेक्षा गरे । उनले अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवी वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढि समझदारीका साथ सहकार्य गर्नुपर्ने बताए ।