नौ महिनामा ५६ करोड १३ लाखको ’फेस मास्क’ आयात
वैशाख २०, काठमाडौं ।
कोरोना महामारीबीच चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिभिन्न देशबाट ५६ करोड १३ लाख ९१ हजार रुपैयाँको ’फेस मास्क’ नेपाल आयात भएको छ । भन्सार विभागकाअनुसार २०७७ साउन देखि चैत मसान्तको अवधिमा उक्त मूल्यका फेस मास्क नेपाल भित्रिएको हो । सो मूल्यमा १० करोड ३९ लाख ३६ हजार ८३ थान र २७ हजार १७१ केजी फेस मास्क नेपालले आयात गरेको हो ।
सन् २०२० को सुरुवातीसँगै विश्वभरी कोरोनाको माहामारी फैलिएको थियो । महामारी सुरुभएसँगै फेसमास्कको माग बढेको थियो । नेपालमा पनि व्यवसायीले मास्क उत्पादन मेसिन ल्याएर अहिले मास्क उत्पादन गरिरहेका छन् । कोभिड–१९ को संक्रमणपछि कच्चा पदार्थ आयात गरी यहाँ मास्क उत्पादन गर्ने उद्योगको संख्या बढेको छ ।
मास्कको बजार माग बढेसँगै एक वर्षअगाडिसम्म मेडिकलमा मात्रै पाइने मास्क अहिले खाद्यान्न पसलमा समेत पाइन्छ । नेपालको उत्पादनसँगै अहिले भारत तथा तेस्रो देशबाट समेत मास्क नेपाल आइरहेका छ । भन्सार विभागको तथ्यांकअनुसार अहिले नेपालले अष्ट्रेलिया, कम्बोडिया, क्यानडा, चीन, फ्रान्सलगायत ३ दर्जनभन्दा बढी मुलुकबाट मास्क आयात गर्दै आएको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै देशभर सर्जिकल मास्कको माग बढीरहेकोे छ ।
प्रतिकृया दिनुहोस्