January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

नौ महिनामा ५ अर्ब ७६ करोडभन्दा बढीको आलु आयात

नौ महिनामा ५ अर्ब ७६ करोडभन्दा बढीको आलु आयात

वैशाख २६, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७७÷७८ को गएको ९ महिनामा विभिन्न देशबाट नेपालले ५ अर्ब ७६ करोड ८० लाख ३२ हजार रुपैयाँको आलु आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउनदेखि चैत मसान्तसम्म)को अवधिमा उक्त मूल्यको आलु आयात गरिएको हो । सो मूल्यमा २२ करोड ४७ लाख १७ हजार २८९ केजी आलु उक्त अवधिमा नेपाल भित्रिएको विभागले जनाएको छ । विभागको आँकडा अनुसार नौ महिनामा भारतबाट मात्रै २१ करोड ४२ लाख ४६ हजार ६९९ केजी आलु नेपाल भित्रिएको छ ।

यस्तै बंगलादेशबाट पनि १ करोड ३५ लाख ७५ हजार केजी आलु नेपाल भित्रिएको छ । चीन, इन्डोनिसियाबाट पनि आलु आयात भएको छ । आलुमा नेपालबाट करिब ७ अर्ब रूपैयाँ बाहिरिएको छ । आलु आयातमा ५४ करोड १३ लाख ९४ हजार रूपैयाँ राजस्व संकलन भएको छ । यस्तै यो अवधिमा तरकारी आयातमा मात्र २७ अर्ब ५६ करोड ३७ लाख ११ हजार रूपैयाँ व्यापार घाटा भएको छ । यसैगरी, यो ९ महिनामा भारतलगायतका देशबाट ८ करोड ८८ लाख ८६ हजार ८८३ किलो प्याज नेपाल भित्रिएको छ । प्याज खरिदमा ३ अर्ब ४३ करोड ३२ लाख २१ हजार रूपैयाँ बाहिरिएको छ । जसमा ३१ करोड ४६ लाख राजश्व संकलन भएको छ ।

सोही अवधिमा चीन र भारतबाट हरियो र सुकेको लसुन एक करोड १७ लाख केजी आयात भएको छ । लसुन भने भारतको तुलनामा चीनबाट बढी भित्रिन्छ । लसुनका लागि नेपालले नौं महिनामा एक अर्ब २८ करोड रुपैयाँ खर्चिएको छ । हरियो तरकारी ९ महिनामा सबैभन्दा धेरै फूलकोपी (काउली) नेपाल भित्रिएको छ । सो अवधिमा काउलीमात्र २१ लाख केजी आयात भएको छ । भेडे खुर्सानी २० लाख केजी, फर्सी १८ लाख केजी, सुख्खा खालका तरकारी सरदरमा ७२ लाख केजी नौं महिनामा नेपाल भित्रिएको छ । यसैगरी, गाजर, मुला, सलगम, बन्दाकोपी, मुला, काक्रो १७ लाख ११ हजार १८७ केजी, हरियो केराउ ८ लाख ८० हजार केजी आयात भएको छ ।

Advertisement