April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मिस्ट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत राष्ट्रिय प्रशारण लाइनमा

मिस्ट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत राष्ट्रिय प्रशारण लाइनमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा बिहिबारदेखि विद्युत पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादीत विद्युत केन्द्रीय प्रणालीमा जोडिएको जानकारी दिए ।

Advertisement

“मिस्ट्रीखोलाबाट उत्पादित विद्युत सिम्क्रोनाइज गरेर केन्द्रीय प्रणालीमा जोडियो”, उनले भने, “परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौं ।”

Advertisement

परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत प्राधिकरणको प्राबिधिक टोली नारच्याङ आएको छ । नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षणसफल भएको थियो । परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ ।

पन्ध्र दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताए । यसअघि २०७७ चैत १५ देखि विद्युत उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना सङ्क्रमित भएपछि करिब डेढ महिना पछाडी धकेलिएको हो ।

विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।

पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना पनि हो ।

प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरूलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ । साधारण सेयर पनि बाडफाँड भइसकेको छ । रासस