उद्योग वाणिज्य महासंघको नेतृत्वमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र सञ्चालन
काठमाडौं, जेठ ४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पताल भवनमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेसनको महासङ्घका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले शुभारम्भ गरेकाहुन् ।
उक्त आइसोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते समझदारीपत्रमा हस्ताक्षर भएबमोजिम आइशोलेसन शुभारम्भ गरिएको हो ।
महासंघले सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी गत वैशाख २६ गतेदेखि ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरेको थियो । अभियान अन्र्तगत नै ५० बेडको आइसोलेसन निमार्ण गरेको हो । आवश्यकताका आधारमा विस्तार गर्दै पछि एक सय बेडसम्म पु¥याइने छ ।
केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड बिरामीहरुलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरुको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने छ । साथै, स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेशनमा रहेका आपतकालीन वा आकस्मिक उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाएको छ । महासंघले केन्द्रको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोतको जोहो गरेको छ ।
सो अवसरमा पूर्व उपप्रधानमन्त्री सिंह र महानगरपालिकाका उपप्रमुख खडगी (श्रेष्ठ)ले सेन्टरको प्रभावकारी सञ्चालनमा आआफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । महासङ्घका अध्यक्ष गोल्छाले कोभिड महामारि मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भएर आएकालाई यस चुनौतीलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासङ्घ दत्तचित्त भई लागेको बताए ।
महासंघको सकृयतामा कोभिड संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिन महासंघले हेल्लो डाक्टर कार्यक्रम सञ्चालन ल्याएको छ । यस अन्र्तगत महासंघले भाइवरको माध्यमद्धारा चिकित्सकिय सेवा दिदैआएको छ । महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउन्डेसन र काठमाडौं महानगरपालिका वडा नम्वर २९ को सहयोग एवं सहकार्यमा काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको ड्राई आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइसकेकोे छ । यस आइसोलेशन केन्द्रमा रहने संक्रमितहरुका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रवन्ध गरिएको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्