February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको महीना दिनसम्म जरिवाना र धितो लिलामी गर्न नपाउने

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको महीना दिनसम्म जरिवाना र धितो लिलामी गर्न नपाउने

जेठ ४, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

Advertisement

यसैगरी राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैकले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गर्ने पनि जनाएको छ ।

समीक्षामार्फत राष्ट्र बैंकले महामारी नियन्त्रणका लागि सञ्चालन हुने उद्योगहरुलाई समेत केही राहत दिने बताएको छ । नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

यसैगरी नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने राष्ट्र बैंकले बताएको छ ।