May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनीमा दुई जनाको उम्मेद्वारी

राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनीमा दुई जनाको उम्मेद्वारी

जेठ ४, काठमाडौं ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् ।

Advertisement

लुम्बिनी प्रदेश सभामा नेकपा एमालेको सांसद् रहेका पाण्डे केही दिनअघि राजीनामा गरेर नेपाली कांग्रेस प्रवेश गरेका थिए । त्यसलगत्तै लुम्बिनी सरकारमा प्रतिपक्षमा रहेका दलहरूले उनलाई राष्ट्रिय सभामा उम्मेद्वार बनाउने निर्णय गरेका थिए । त्यस्तै माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचन जितेका खड्का सर्वोच्च अदालतको आदेशले नेकपाबाट एकीकरणपूर्वको माओवादी केन्द्र र एमालेका रूपमा ब्युँतिएपछि खड्काले एमाले रोजेका थिए । माओवादी केन्द्रले दल त्याग गरेको भन्दै खड्कालाई राष्ट्रिय सभा सदस्य नरहने गरी पदमुक्त गरेको थियो ।

Advertisement

त्यसरी रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा अहिले उपनिर्वाचन हुन लागेको हो । एमालेले माओवादी केन्द्रबाट पार्टी त्याग गरेर आफ्नो पार्टीमा आएका खड्कालाई उम्मेद्वार बनाएको हो । यही १७ गते तय गरिएको उपचुनावमा लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिका र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी २ सय ९६ मतदाता छन् ।

प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको गठबन्धनका नेताहरुको दावी छ ।