February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

एनएमबि बैंकको ऋणपत्रमा लगानी गर्ने आज अन्तिम दिन

एनएमबि बैंकको ऋणपत्रमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं ः एनएमबि बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । एनएमबिले जेठ २ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी ८ लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । एनएमबिले १० वर्ष अवधिको ‘एनएमबि ऋणपत्र ८.५०–२०८७÷८८’ जारी गरेको हो । यसमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने व्यवस्था छ ।


एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

ऋणपत्र खरीद गर्ने लगानीकर्तालाई बिक्री गर्ने सम्बन्धीत कम्पनीहरुले ऋणपत्र जारी गर्दा तोकिएको ब्याजदर अर्धवाषिर्क र बार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गर्छन् । जसले गर्दा यस डिबेन्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि बार्षिक रुपमा एकनाशले ब्याज प्राप्त गर्न सक्छन् । कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ । कम्पनीले नोक्सानीमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।

Advertisement