April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

काठमाडौंमा ४३ हजार बढीले लिए भेरोसेल खोप

काठमाडौंमा ४३ हजार बढीले लिए भेरोसेल खोप

जेठ ६, काठमाडौं ।
काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन थालिएको हो ।

Advertisement

यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र १९ हजार ५३३ महिला छन् । यो संख्या कामपाको वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको संख्या हो ।

Advertisement

यीमध्ये सबैभन्दा धेरै वडा नम्बर २६ को खोप केन्द्र लैनचौरबाट २ हजार ४९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४२७ ले र तेस्रोमा वडा नम्बर ३२ बाट २ हजार ३८५ ले खोप लिएका छन् ।

कामपामा ११ वडामा खोप लिनेको संख्या १ हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नम्बर १९ बाट १९७ जनाले, त्यसपछि वडा नम्बर २० मा ३९४ र तेस्रोमा वडा नम्बर २४ मा ४०८ जनाले खोप लिएका छन् ।

त्यसपछि वडा नम्बर २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४१९, ४४२, ४८७, ५२५, ७०६, ७२९, ८१३ र ९०५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ ।

यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । 

पहिलो डोज जहाँसुकै लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार ५६८ संक्रमितमध्ये १२ हजार ४१ सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण ३७२ जनाको मृत्यु भएको छ । ४२ हजार १५५ जना निको भएको तथ्यांकमा उल्लेख छ । रासस