April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

खोप उपलब्ध गराउन बेलायती राजदूतलाई प्रधानमन्त्री ओलीको अनुरोध

जेठ ६, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग नेपाललाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेका छन् । बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले बेलायती राजदूत पोलिटसँग अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोरोनाविरूद्ध खोप उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच कोभिड–१९ विरुद्धको लडाईमा सहयोगमा आदान प्रदान र दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको बताईएको छ । नेपालले सुरूमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोभिशिल्ड खोप लगाउन सुरू गरेको थियो ।

भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको उक्त खोप भारतमा नै संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि भारतले निर्यातमा रोक लगाएको थियो । भारतले तत्कालका लागि खोप निर्यात गर्न नसकिने बताईसकेको छ । त्यसैले प्रधानमन्त्री ओलीले बेलायती दूतलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

Advertisement