January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

एक वर्षमा पर्यटन क्षेत्रमा २ खर्ब घाटा, ६५ प्रतिशत मजदुर बेरोजगार

एक वर्षमा पर्यटन क्षेत्रमा २ खर्ब घाटा, ६५ प्रतिशत मजदुर बेरोजगार

जेठ १२, काठमाडौं ।
विश्वभरि नै कोरोना महामारीको दोस्रो लहरले गर्दा सम्पूर्ण जनमानसलाई भयभीत बनाएको अवस्था छ । यसको कारणले गर्दा पछिल्लो एक वर्षमा पर्यटन क्षेत्रको मात्रै २ खर्ब आम्दानी गुमेको अनुमान गरिएको छ । यस्तै एक वर्ष अवधिमा १७ प्रतिशत पर्यटन व्यवसाय पूर्ण रूपमा बन्द भएको एक अध्ययनले देखाएको छ । कोरोनाको दोस्रोसँगै तेस्रो लहर पनि आउने चेतावनी विज्ञहरूले दिइरहँदा सन् २०२३ सम्म नै पर्यटक आउन नसक्ने अवस्था आउने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

Advertisement

सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, ट्रेकिङ, ट्राभल, कार्गो, लगायत १७ प्रतिशत पर्यटन व्यवसाय स्थायी रूपमा बन्द भएको अध्ययनको निष्कर्ष छ । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ–संस्थाको समन्वय र विज्ञहरूको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले होटेल संघ नेपाल (हान), ठमेल पर्यटन क्षेत्र विकास परिषद्, मजदुर संगठन तथा अन्य पर्यटन क्षेत्रका संघ–संस्थाको सहयोगमा सर्वेक्षण गरिएको जोशीले जानकारी दिए ।

Advertisement

सर्वेक्षणअनुसार हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्थामा छन । तर, साना लगानीका व्यवसाय भने पूर्ण बन्द भएका छन् । सर्वेक्षणमा महामारीका बीचमा पनि ६ प्रतिशत पर्यटन व्यवसाय जारी नै रहेको देखिएको छ । कतिपय होटेलहरूले क्वारेन्टिन र आइसोलेसन बनाएर भए पनि व्यवसाय सञ्चालन गरिरहेका छन ।

यस्तै पर्यटन क्षेत्रमा कार्यरत ६५ प्रतिशत मजदुर बेरोजगार भएका छन । सबैभन्दा बढी भने पदयात्रामा काम गर्नेहरू प्रभावित भएका छन् । चालू वर्ष भने हिमाल आरोहण भएकाले शेर्पा गाइड तथा भरिया र एक्सपिडिसन कम्पनी चलाउनेहरूले केही आम्दानीसमेत गरेका छन् भने सरकारले पनि ७२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

सगरमाथालगायत हिमालको आरोहण अहिले पनि जारी रहेको छ । स्थायी रूपमा काम गरिरहेका एयरलाइन्स तथा होटेलका कर्मचारीको आम्दानी घटेको भए पनि जागिरबाटै बिदा हुनुपर्ने अवस्था भने कम रहेको छ । तर, ज्यालादारीमा काम गर्ने धेरै मजदुरको रोजीरोटी गुमेको सर्वेक्षणको निष्कर्ष रहेको छ । अस्थायी जागिर गरिरहेकालाई काममा नबोलाउनेदेखि कार्य अवधि घटाएरसमेत काममा लगाइएको पाइएको छ । कतिपय कम्पनीले कर्मचारीको सेवा–सुविधा कटौती गरेका छन् ।