April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

जेठ १४, काठमाडौं ।
कोरोना सङ्क्रमणका कारण देशका विभिन्न जिल्लामा बन्दाबन्दी शुरु भएपछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेलदेखि तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको उपभोक्ताको गुनासो रहेको छ । यस्तै काठमाडौं उपत्यकामा सरकारले शुक्रवारदेखि एक साताका लागि खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोरहरू समेत खोल्न नदिने निर्णय गरेपछि खाद्यान्न पसलमा उपभोक्ताको भीड बढेपछि व्यापारीले मूल्य बढाएका छन् ।

बिहीवार बिहान खाद्यान्न किन्न बजार पुगेका कलंकीका हरिहर बरालले १ लिटर सूर्यमुखी तेलको मूल्य २८० रुपैयाँ तिर्नुपरेको गुनासो गरे । बुधवारसम्म सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ५० रुपैयाँ थियो । सामान्यतया बजारमा तरकारीदेखि अन्य दैनिक उपभोग्य वस्तुको मूल्य शत्प्रतिशत वृद्धि भएको उपभोक्ता बताउँछन् । एकदिन अघिसम्म प्रतिकिलो ६० रुपैयाँ रहेको काउली ८० रुपैयाँमा किन्नुपरेको उनिहरुको गुनासो छ । उपत्यकामा बिहीवार धरैजसो व्यापारीले ग्राहकको बाक्लो उपस्थितिको फाइदा उठाउँदै अन्य दिनको भन्दा १० देखि ३०÷४० रुपैयाँसम्म बढी मूल्यमा सामान विक्री गरेको पाइएको छ ।

प्रतिकिलो ३७५ रुपैयाँ पर्ने सुकेको खुर्सानी ४७५ रुपैयाँसम्ममा वक्री भइरहेको छ । यस्तै प्रतिकिलो १७५ रुपैयाँ पर्ने मासको दाल १९० र १३५ रुपैयाँ पर्ने चना १५० रुपैयाँसम्ममा व्यापारीले विक्री गरिरहेका छन् । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले निषेधाज्ञा कडा पारिने भएपछि केही व्यापारीले खाद्य वस्तु मूल्य बढाएर बेचेको जानकारी आफूलाई पनि आएको बताए । महामारीको समयमा उपभोक्ताबाट मनपरी रूपमा मूल्य नअसुल्न व्यापारीहरूलाई आग्रह गरिएको उनको भनाइ छ । यद्यपि व्यापारीहरूले भने संघको आग्रह बेवास्ता गरेर मनपरी मूल्य लिने गरेका छन् ।

Advertisement