August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

शेयर बजारमा अर्को रेकर्ड : १९ अर्ब ५५ करोडको सेयर कारोबार

शेयर बजारमा अर्को रेकर्ड : १९ अर्ब ५५ करोडको सेयर कारोबार

जेठ ३०, काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । गत बिहीवार १ दशमलव ८० अंकले घटेर २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको बजार आइतवार २ हजार ९८३ दशमलव ११ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यसदिन २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १ लाख ८२ हजार ४३० वटा संख्यामा कारोबार भएको छन् । दिनभर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।  यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि जेठ २३ गते आइतबार १३ अर्ब २७ करोडको शेयर कारोबारको रेकर्ड थियो । एक हप्तामै पुरानो रेकर्ड २ अर्ब २८ करोडको कारोबार रकम बढेर तोडिएको हो ।

विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत कम्पनीका लगानीकर्ताले यस दिन धेरै मूल्य कमाएका छन्। समूहगत रुपमा हेर्दा बैंकिङ ८, होटल तथा पर्यटन १६७, विकास बैंक ३८८, जलविद्युत १८६, फाइनान्स १७३ र उत्पादन ६० अंकले बढेको छ।

ब्यापार ४३, निर्जीवन बीमा २२, अन्य ८, माइक्रोफाइनान्स १७ र जीवन बीमा समूह १४७ अंकले घटेका छन्।  ३ दर्जनभन्दा धेरै कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ। यस दिन श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो।

त्यस्तै, रैराङ हाइड्रो, लिबर्टी इनर्जी, मल्टिपर्पोज फाइनान्स, तारागाउँ रिजेन्सी, हिमाल दोलखा हाइड्रो, ज्योति विकास र कामना सेवा विकास बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो। कारोबारका आधारमा यस दिन नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ५४ करोडको कारोबार  भएको छ । त्यस्तै पुनर्बीमा कम्पनीको ५३ करोड तथा ज्योति विकासको ४४ करोडको कारोबार भएको छ ।