August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याइयो, ब्यापार ब्यावसायमा खुकुलो (आदेशसहित)

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याइयो, ब्यापार ब्यावसायमा खुकुलो (आदेशसहित)

जेठ ३०,काठमाडौं ।

उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  बताए ।यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको उनले बताए ।जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुल्दै आएका छन् ।  पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी–साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गरिएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी–साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । मास्क लगाएर हिँड्डुुल गर्न दिइनेछ ।

व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार, पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय, बारअनुसार खोल्न दिइने गरी तोकिएको छ । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ।prashan2-30